धनगढी, १५ भदौ / भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले ६ लाख ३९ हजार ६ सय ९६ रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको सकुशल उद्धार तथा प्रभावित क्षेत्रमा छिट्टै सामान्य अवस्था फर्कियोस् भन्ने कामना गरेको छ।
समाजका पदाधिकारी, जिल्ला संयोजक, सल्लाहकार, सदस्य तथा शुभेच्छुकहरूबाट संकलित रकममध्ये ३ लाख ३९ हजार ६ सय ९६ रुपैयाँ व्यक्तिगत सहयोगका रूपमा संकलन भएको सुदूरपश्चिमेली नेपाली समाज इजरायलका अध्यक्ष कृष्ण चौधरीले बताए ।
त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ जम्मा गरिएको छ। उक्त रकममध्ये १ लाख ९२ हजार ७ सय ८० रुपैयाँ संस्थाको कोषबाट र १ लाख ७ हजार २ सय २० रुपैयाँ विभिन्न सहयोगी मनहरूबाट व्यक्तिगत रूपमा जुटाइएको समाजले जनाएको छ।
विपद्को पीडामा परेका नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै समाजले देश तथा विदेशमा रहेका नेपालीहरूलाई विपद्को समयमा एकजुट भई सहयोग गर्न आह्वानसमेत गरेको छ ।