धनगढी, १० भदौ / व्यापार व्यवसाय गर्नु केवल नाफा कमाउनु मात्र होइन, समाज र देशप्रतिको जिम्मेवारी निर्वाह गर्नु पनि हो। यही सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कैलालीको धनगढी–७, मनेहरामा रहेको बेहडाबाबा मेटल उद्योगले देशमा आइपरेको विपत्तिका बेला आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरेको छ।
देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला उद्योगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्दै विपत्तिमा परेका नागरिकको पीडामा साथ दिएको हो।उद्योगले व्यापारसँगै समाज र राष्ट्रप्रतिको दायित्वलाई पनि उत्तिकै महत्त्व दिँदै आएको जनाएको छ। विपत्तिको समयमा पीडितको आँसु पुछ्न र संकटमा परेकालाई भरोसा दिन राज्य तथा समाजका सबै पक्ष एकजुट हुनुपर्ने उद्योगको भनाइ छ।
विपत्तिले कुनै भूगोल, वर्ग वा समुदाय छुट्याउँदैन। यस्तो कठिन घडीमा एकको पीडा अर्काको पनि पीडा बन्ने र सहयोगका साना–साना हातहरू जोडिँदा ठूलो मानवीय सहारा बन्ने उद्योगको विश्वास छ।
“हामी व्यापार मात्रै गर्दैनौँ, देशमा आइपर्ने विपत्तिमा पनि आफ्नो दक्षता र क्षमताअनुसार सहयोग र सहकार्य गर्न सदैव प्रतिबद्ध छौँ,” उद्योगको सन्देश छ। विपत्तिमा राज्यको प्रयाससँगै निजी क्षेत्र, व्यवसायी, संघसंस्था र आम नागरिकको साथ पनि उत्तिकै आवश्यक हुन्छ। यही भावनासहित बेहडाबाबा मेटल उद्योगले संकटमा परेकाहरूको पीडामा मलम लगाउने अभियानमा आफ्नो तर्फबाट हातेमालो गरेको हो।