धनगढी, ९ भदौ / सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले कैलालीस्थित गौरीफन्टा सीमा नाकाको निरीक्षण गरेका छन्। सीमा सुरक्षा व्यवस्थापन, सीमावर्ती क्षेत्रका समस्या तथा सीमापार अपराधको अवस्थाबारे जानकारी लिन आईजीपी पौडेलले गौरीफन्टा नाकाको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा पौडेलले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका अधिकारी तथा सुरक्षाकर्मीसँग सीमाको पछिल्लो अवस्था, सुरक्षा चुनौती र सीमापार आवतजावतका विषयमा जानकारी लिएका थिए। उनले सीमावर्ती नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासा तथा समस्या समेत सुने।
स्थानीयले सीमा क्षेत्रमा देखिएका विभिन्न समस्या, आवतजावतमा हुने कठिनाइ, सीमापार अपराध तथा सुरक्षासँग सम्बन्धित विषयमा महानिरीक्षक पौडेलसमक्ष आफ्ना गुनासा राखेका थिए। पौडेलले नागरिकका गुनासा र सीमामा देखिएका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न आवश्यक पहल गर्ने बताएका छन्।
निरीक्षणका क्रममा महानिरीक्षक पौडेलले सीमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी सीमा क्षेत्रमा निरन्तर सक्रिय भएर खटिएको बताए। उनले सीमासम्बन्धी समस्या, अपराध नियन्त्रण तथा नागरिकको सुरक्षाका विषयमा आफूहरू आफैं स्थलगत रूपमा खटिएर अवस्थाको अध्ययन गरिरहेको बताए।
गौरीफन्टा नाकामा भारतीय सुरक्षा अधिकारीहरूले समेत आईजीपी पौडेललाई स्वागत गरेका थिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सेकेन्ड कमान्डेन्ट (पिलिभित) रुपेश मधुवान, ३९ बटालियन पलियाका डिप्टी कमान्डेन्ट जगजित बहादुर जैगवार तथा गौरीफन्टाका एसिस्टेन्ट कमान्डेन्ट रवि कुमार सामोता लगायतका अधिकारीले उनलाई स्वागत गरेका थिए।
नेपाल–भारतको प्रमुख सीमा नाकामध्ये एक रहेको गौरीफन्टामा दैनिक ठूलो संख्यामा मानिसको आवतजावत हुने गरेको छ। यस्तो अवस्थामा सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण तथा दुई देशका सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत निरीक्षणका क्रममा छलफल भएको बताइएको छ।