धनगढी १९ साउन/नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा वीरगति प्राप्त गरेका नेपाली पर्वतारोही पूर्वबहादुर गुरुङ, युक्त किलिपेम्बा शेर्पा, निमा शेर्पा, ग्याल्जे शेर्पा र नवाङ थिङ्गु शेर्पालगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमबिक्रम सिंहले जानकारी दिए ।
श्रद्धाञ्जली कार्यक्रममा नेपालका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को साहसिक योगदानको पनि सम्मानपूर्वक स्मरण गरिएको थियो। सहभागीहरूले दिवङ्गत आरोहीहरूले नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पु¥याएको अतुलनीय योगदान, साहस, समर्पण र प्रेरणाको उच्च सम्मान गर्दै उहाँहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए ।
कार्यक्रममा पर्यटन व्यवसायी, पर्वतारोहणप्रेमी, खेलप्रेमी, शुभेच्छुक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नाटा सुदूरपश्चिम प्रदेशको आयोजनामा गरिएको कार्यक्रममा बुद्ध एयर धनगढी, होटल व्यवसायी संघ कैलाली सहितको सहभागितामा कार्यक्रम भएको थियो ।