धनगढी, १४ साउन/ धनगढीकी पूजा धानुक (धामी) को मृत्यु प्रकरणलाई लिएर जिल्ला प्रहरी कार्यालय कैलाली परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। मृतकका माइती पक्ष र श्रीमान् पक्षबीच शव व्यवस्थापनको विषयमा विवाद चर्किएपछि प्रहरी कार्यालय परिसर केही समय तनावग्रस्त बनेको हो।
श्रीमान् पक्षले मृतकको तत्काल दाहसंस्कार गर्नुपर्ने अडान राखेको छ भने माइती पक्षले पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएपछि मात्रै शव बुझ्ने र उठाउने अडान लिएको जनाएको छ। यही विषयमा दुवै पक्षबीच आरोप-प्रत्यारोप हुँदै विवाद बढेपछि स्थिति तनावपूर्ण बनेको हो।
तनाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै अवस्था नियन्त्रणमा राख्ने प्रयास गरिरहेको जनाएको छ।
घटनास्थलमा अहिले पनि दुवै पक्षका आफन्त तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ। माइती पक्षले हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएपछि प्रहरीले उनका श्रीमान भरत धामीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा श्रीमान भरत धामी, उनका बाजे–बज्यै, फुपू र बहिनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार माइती पक्षले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
मृतक पूजाको शव पोस्टमार्टमका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा फरेन्सिक विशेषज्ञ उपलब्ध नभएकाले माइती पक्षकै आग्रहमा शव नेपालगञ्ज लगिएको हो । पूजाको भाइती घर कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथला हो । उनले प्रेम सम्बन्धपछि गत मंसिरमा धनगढीका भरत धामीसँग विवाह गरेकी थिइन् । विवाह भएको नौ महिना नपुग्दै उनको मृत्यु भएको हो ।