काठमाडौं, १३ साउन / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिंहदरबारमा जारी बैठकमा सुझाव दिँदै सरकार खोजेका छन् । सुनसरी घटनालगायतका विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर निस्किएका थापाले भने, ‘माननीय सभापति मार्फत हामीले सरकारलाई प्रश्न राखेका छौँ । यतिखेर सरकार के गर्दैछ ? कहाँ छ ?
सरकारले समन्वय नगरेकोप्रति असन्तुष्टि जनाउँदै सभापति थापाले अघि भने, ‘सरकार बन्दुकको गोलीमा मात्र सीमित हुनुहुन्न । स्टाटसमा मात्र भेटिनुहुन्न । सरकार अभिभावक मात्र होइन, सरकार लिडर पनि हो । लिडरको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको उसले कोलाबोरेट गर्न सक्नुपर्छ । उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ अनि अरुले पनि उसलाई विश्वास गर्छ ।’
उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनु पर्ने बताए । ‘यतिबेला त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्ने हो । प्रदेश र स्थानीय सरकारसँग संवाद गर्ने हो । सबैबाट साझा प्रयास गर्ने कुराको एउटा आधार तयार गर्ने हो’, उनले भने ।
उनले सरकारले नबोलाए पनि रास्वपाले प्रमुख दलको हैसियतमा समयमा बैठक बोलाएको भन्दै आभार प्रकट गरे । उनले अघि थपे, ‘यो बेलामा नेपाली कांग्रेस पार्टीको तर्फबाट जे भूमिका निर्वाह गरेका छौं, जानकारी गरायौं ।’
सभापति थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तरनिहित पूँजी भएको बताउँदै यसबारे बैठकमा जानकारी गराएको बताए । बैठकमा उनले सुनसरीलगायतका तल्लो तहमा पनि यसरी नै सर्वदलीय बैठक बस्नु पर्ने र त्यसका लागि आफूहरु भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
बैठक सिंहदरबारमा जारी छ। सभापति थापा भने आफ्ना कुरा राखेर निस्किएका छन् । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन भएकोले श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन बैठकबाट निस्किएका हुन् । बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे पनि सहभागी छन् ।
