धनगढी , २० जेठ / काठमाडौंमा जारी १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडीका तीन खेलाडीले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएका छन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्ला खेलकुद समिति बैतडीले नगदसहित सम्मान गर्ने भएको छ।
प्रतियोगितामा बैतडीका अस्मिता धानुकले १५ सय मिटर दौडमा स्वर्ण पदक जितेकी हुन् भने सुनिता पार्कीले हाईजम्पतर्फ स्वर्ण हात पारेकी छन्। त्यस्तै पुजा साउँदले सटपट (शटपुट) तर्फ स्वर्ण जित्दै सुदूरपश्चिमलाई महत्वपूर्ण उपलब्धि दिलाएकी हुन्।
बैतडी जिल्ला खेलकुद समितिले स्वर्ण पदक विजेता तीनै खेलाडीलाई जनही रु. ५ हजार ५ सय ५५ नगदसहित सम्मान गरिने घोषणा गरेको छ।
यस उपलब्धिलाई सुदूरपश्चिमको खेलकुद इतिहासमा महत्वपूर्ण उपलब्धि मानिएको छ। खेलाडीहरूको यो सफलता आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।
