महेन्द्रनगर, ३१ बैशाख- हिजो काठमाण्डौंमा फेला परेकी संक्रमित महिलाको कञ्चनपुरको बेतकोट नगरपालिका– १० हरपाल गाउँ स्थित घरमा उनका परिवारका सदस्यहरुको थ्रोट स्वावको नमूना संकलनका लागि धनगढीबाट गएको प्रयोगशालाको टीम भिटिएम कीट नलिएर गएका कारण खाली हात फर्किएको छ ।
बुधबार दिउसो अढाई बजे हरपाल गाउँ पुगेको प्रयोगशालाको टीम थ्रोट स्वावको नमूना संकलनका लागि कीट नलिएर गएका कारण नमूना संकलन नगरेर फिर्ता भएको हो । बेतकोट नगरपालिका– १० हरपाल गाँउमा रहेका उनका परिवारका ५ जना सदस्यको थ्रोट स्वाव संकलनका लागि बुधबार दिउसो धनगढीबाट प्रयोगशालाको टीम गएको हो ।
प्रयोगशालाको टीम थ्रोट स्वावको नमूना संकलनका लागि आवश्यक पर्ने किट लैजान भने बिर्सिएको बताईएको छ । भिटिएम किट लैजान बिर्सिएपछि बुधबार नामावली मात्र संकलन गरेर त्यो टीम फर्किएको छ । बेतकोट नगरपालिकाको स्वास्थ्य ईकाई प्रमुख हरिशा पालले किट लिएर आउन बिर्सिएका कारण प्रयोगशालाको भिटिएम टीम रित्तै फर्किएको बताईन ।
कञ्चनपुरको बेतकोटबाट २९ गते काठमाण्डौं गएकी ३३ वर्षीय महिलामा कोरोना संक्रमण पाईएको थियो । हाल चन्द्रागिरी नगरपालिकाको मत्स्यगाउँ बस्ने उनी सशस्त्र प्रहरीको अवकाश प्राप्त जवान हुन् ।