धनगढी,७ बैशाख- कैलालीका कोरोना संक्रमित एक जना युवक आईतबार सेती प्रादेशीक अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक राज विक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किएका हुन् ।
१२ गते भारतबाट घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए । सेती प्रादेशीक अस्पतालबाट फर्किदै गर्दा आत्मवल बलियो बनाउन कोरोना संक्रमितहरु संग आग्रह गरे । उनले भने, भारत र अन्य देशबाट आएको आफ्नै परिवारको सदस्य भएपनि अनिवार्य क्वारेन्टाईनमा राख्नुहोला ।
अब सेतीमा चार जना संक्रमितको उपचार भईरहेको छ । अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको थियो ।
डाक्टर जोशीले तीन जनाको तेस्रो र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको बताए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवको तेस्रो रिपोर्ट यसअघि नै आईसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भईरहेको समेत उनले बताए । सुदूरपश्चिममा पछिल्लो सात दिनयता कोरोना संक्रमितको सङख्या यथावत छ । गत चैत्र २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो ।