काठमाडौं । बिहीबार साँझ अचानक कोरोना भाइरस संक्रमणका १४ बिरामी थपिए । कोरोना भाइरस संक्रमण थपिएसँगै अहिले सरकारले गरेको लकडाउन अलि कडाई हुन थालेको छ । बिहीबारसम्म हिँड्दै आ आफ्नो घरमा हिँडिरहेका सर्वसाधरणलाई स्थानिय तहहरुले खान बस्नको व्यवस्था गर्न थालेका छन् । एकैचोटि ठूलो मात्रामा संक्रमण देखिएपछि केही आत्तिएको थियो समुदाय ।
शनिबार दिउँसोका दुईवटा आशालाग्दा समाचारहरु प्रकाशन भए । दुईजना कोरोना संक्रमितहरु निको भएर अस्पतालबाट घर फर्किएका छन् । योसँगै, नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३ पुगेको छ । शनिवार निको भएकामध्ये काठमाडौंकी १९ वर्षीय प्रसिद्धि श्रेष्ठ शनिबार डिस्चार्ज भइन् । डिस्चार्ज भएपछि उनी अहिले घरमा गएकी छिन् । अस्पतालबाट डिस्चार्ज भएर उनले नेपाल टेलिभिजनमा केही अनुभवहरु सेयर गरेकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो गरेको पत्रकार सम्मेलनमा पनि उनले टेलिभिजनमा दिएको उक्त अनुभव बजाइएको थियो । आफू अस्पताल अनउनुअघि खासै लक्षण नदेखिएको भन्दै अस्पताल भर्ना भएको दुई दिनपछि बल्ल लक्षण देखिएको उनले बताइन् ।
उनले पहिलाको कुरा स्मरण गर्दै भनिन्,‘म परीक्षणका लागि अस्पताल आउनुअघि खासै लक्षण देखिएका थिएनन् । अस्पताल भर्ना भएको दुइ दिनपछि बल्ल लक्षण देखियो । सास फेर्न गाह्रो भयो, खोकी लाग्यो, पेट दुख्यो ।’ फ्रान्सबाट घर आएदेखि नै आफू अलगै बसेको उनले बताइन् । ‘म घरमै सेल्फ आइसोलेसनमा बसेको थिएँ । जहाजमा पनि एक्लै बसेको थिएँ, पूर्वसावधानीले गर्दा परिवारका सदस्यमा कोरोना सर्न पाएन । अरूलाई फैलन पाएन,’ उनले भनिन् ।
उनले सरकारलाई पनि केही सुझाव दिएकी छन् । धेरै मानिसहरूले आफूले जस्तो सेवा सुविधा नपाएको हुन सक्ने उल्लेख गर्दै उनले राम्रो सेवा सुविधा, आइसोलेसनमा बस्ने व्यवस्थापन गरिदिन सरकारलाई आग्रह टेलिभिजनसँगको कुराकानीको क्रमम गरिन् । ‘सरकारले धेरै प्रयासहरू, काम गरिरहेको छ । सकेसम्म मानिसहरूलाई आइसोलेसनमा राख्न सहयोग गरिदिनुहोला,’ श्रेष्ठले भनिन्, ‘धेरै मानिस आइसोलेसनमा बस्न पाएका छैनन् ।
सेल्फ आइसोलेसन महत्वपूर्ण कुरा हो । तपाईं बाहिरबाट आउनुभएइको छ भने परीक्षण पनि गराउनुस्, सरकारले त्यो सुविधा पनि दिएकै छ।’ संचारमाध्यमलाई सुझाव दिँदै उनले भनिन् ‘नकरात्मक कमेन्ट आउने गरी र सेन्टिमेन्ट क्रियट नगरिदिनू । मलाई पनि नकरात्मक कमेन्ट आएका थिए । तर म सत्य बोल्ने पत्रकारलाई धन्यवाद दिन्छु ।’