धनगढी । चुरे गाउँपालिका–५ मा जीविकोपार्जन तथा जैविक विविधता संरक्षणका लागि समुदाय सशक्तिकरण परियोजना अन्तर्गत बहुप्रकोपीय पूर्वसूचना सम्बन्धी तीन दिने तालिम सुरु भएको छ। जेओए, ब्रिटिस रेडक्रस र नेपाल रेडक्रसको संयुक्त आयोजनामा सुरु भएको तालिममा विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको छ।
तालिमका प्रशिक्षक सुरत बहादुर स्वार रहेका छन्। उक्त कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटी, उपाध्यक्ष धना थापा, प्रमुख प्रशासकीय अधिकृत धर्म राज खत्री, सूचना अधिकारी काली प्रसाद भट्ट, रेडक्रस सोसाइटी कैलालीका जिल्ला अधिकृत नरेन्द्र भट्ट, वडा अध्यक्ष वीर बहादुर धामी, शिवशक्ति सामुदायिक वन सचिव पुस्पा धामी, अध्यक्ष कमल लामा, सिबिपियु प्रतिनिधि लाल बहादुर धामी, निर्मला धामी, सदस्य प्रकाश धामी र प्रेम देवकोटा, रेडक्रस चुरे शाखाका सदस्य रमेश कडेल, भक्तिराम आचार्यसहित रेडक्रसका च्याम्पियनहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य जीविकोपार्जनमा सुधार ल्याउने तथा जैविक विविधता संरक्षणमा समुदायलाई सशक्त बनाउने रहेको कार्यक्रम अधिकृत लैतन चौधरीले बताए। तालिम तीन दिनसम्म जारी रहने उनले जानकारी दिए।
चुरेको भौगोलिक संरचना परिवर्तन हुँदै गएको र परम्परागत उत्पादन पद्धतिले अब भरपर्दो नतिजा नदिने उपाध्यक्ष धना थापाले बताइन् । उनले अर्गानिक उत्पादनतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै माटोको अम्लीयताका कारण बस्ती नै विस्तापित हुने अवस्था आएको बताइन्। उनले भनिन् “कार्यक्रमबाट सिकेका कुराहरूको सदुपयोग गर्न सके समुदायले ठूलो फाइदा पाउँछ ।,”
चुरेको भूगोल निकै कमजोर भएकोले प्राकृतिक विपद् जोखिम उच्च रहेको अध्यक्ष चक्र बोगटीले बताए। जलवायु परिवर्तनका कारण प्रकोपको जोखिम थपिएको भन्दै उनले आगलागी चुरे क्षेत्रमा प्रमुख चुनौती बनेको बताए। “अगलागी नियन्त्रण गर्न सके धेरै प्रकोप स्वतः रोक्न सकिन्छ,” बोगटीले भने। उनले वन–जंगल जोगाउनुपर्ने र चुरेलाई तरकारीको अर्गानिक उत्पादन पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने बताए।
तालिमले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण, अर्गानिक उत्पादन प्रवर्द्धन तथा जैविक विविधता संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयोजकहरूले बताए ।