काठमाडौँ — सरकारले कोरोना भाइरस ९कोभिड–१९० रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने हाइड्रोक्सीक्लोरोक्वीन ट्यावलेटसहित ६० थरीका औषधिहरु भारतको नयाँ दिल्लीबाट ल्याउने भएको छ । चीनको गोन्जाउबाट भने अतिआवश्यक अन्य स्वास्थ्य सामग्रीहरु ल्याउने तयारी गरेको हो ।
मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार नेपाली सेनालाई सरकार–सरकार ९जीटुजी० प्रक्रियामार्फत स्वास्थ्य सामग्री र औषधिहरु खरिद गरी ल्याउने जिम्मेवारी दिएको थियो । उक्त जिम्मेवारीअनुसार नेपालले चीन, भारत, इजरायल, दक्षिण कोरिया र सिंगापुरलाई कूटनीतिक माध्यममार्फत जीटुजी खरिदको लागि पत्राचार गरेको थियो । तीमध्ये भारत, चीन र दक्षिण कोरियाबाट पत्रको जवाफ आएको थियो ।
सेनाले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रले तयार पारेको सूचीलाई खरिद इकाईले पारित गर्दै रक्षा मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित मुलुकलाई औषधि र स्वास्थ्य सामग्रीको सूची तयार पारेर पठाएको हो ।
नेपालले पठाएको सूचीलाई अन्तिम रुप दिन मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव तथा कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रका प्रमुख लक्ष्मण अर्याल र सेनाका पदाधिकारीहरुको जंगी अड्डामा आइतबार छलफल भएको थियो । त्यसलगत्तै सम्बन्धित मुलुकहरुमा सूचीसहित नेपालले पत्राचार गरेको हो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाको नेतृत्वमा रहेको खरिद इकाईले सूची तयार पारि भारत र चीनमा पत्राचार गरिरहेका छौं । प्रवक्ता पाण्डेले चीनमा पठाएको सूचीको विषयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चाहिने अतिआवश्यक सामग्री नै भएको बताए ।
भारतबाट नेपालले खरिद गर्न लागेको औषधि दिल्लीबाट ल्याउनु पर्ने उनले जानकारी दिए । ‘भारत सरकारले दिल्लीस्थित हाम्रो राजदूतावासमा हस्तान्तरण गर्छ । त्यसपछि हामीले गएर ल्याउने हो,’ उनले भने ।
यस्तै, चीनबाट नेपालले खरिद गर्न लागेको स्वास्थ्य सामग्री भने गोन्जाउबाट ल्याउनु पर्ने भएको छ । ‘चीनले हामीले भनेका सम्पूर्ण सामग्री गोन्जाउमा उपलब्ध गराउने भनेको छ । सामग्री जम्मा भएपछि हामीले त्यहिबाट ल्याउने हो,’ पाण्डेले भने ।
पाण्डेका अनुसार चीनमा पठाएको सूचीमा चिनियाँ अझ केही स्पष्ट हुन खोजेको कारणले सोमबार दिउँसो भिडियो कन्फरेन्समार्फत छलफल गरेर टुंगो लगाउने योजना छ ।
दक्षिण कोरियाली सरकारले नेपाललाई चार कम्पनीको नाम पठाएको थियो । पाण्डेका अनुसार चीन र भारतमा उपलब्ध नभएका सामग्रीहरु दक्षिण कोरियामा भए त्यहाँबाट ल्याउने छ । यस्तै, इजरायलमा आइतबारबाट त्यहाको चार्ड इस्टर सकिएको छ । ‘अब इजरायलबाट पनि हाम्रो पत्रको जवाफ आउँछ होला । त्यसपछि अन्य आवश्यक सामग्री त्यहाबाट पनि ल्याउन पहल गर्ने छौं,’ उनले भने ।
सेनाले आवश्यक औधषि र स्वास्थ्य सामग्रीको सूची पठाएपछि अब सरकारले कति रकम खर्चेर कति सामान ल्याउने भन्ने निर्णय गर्न बाँकी छ । ‘अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि खरिदको अन्तिम टुंगो लाग्छ र त्यसपछि हामी सामान नेपाल ल्याउने छौं,’ प्रवक्ता पाण्डेले भने ।
सेनाले खरिद व्यवस्थापन इकाईमा स्वास्थ्य तथा जनसख्या मन्त्रालयका पदाधिकारीहरुसँग मिलेर नेपाललाई ती सूचीहरुबाट आवश्यक स्वास्थ्य सामग्री र औषधिको खरिद सूची तयार गरेको हो । उक्त समितिमा स्वास्थ्य सेवा विभागका पदाधिकारीहरु आमन्त्रित सदस्यका रुपमा छन् ।
भारतले नेपालसहित १३ मुलुकहरुमा करिब १४ मिलियन हाइड्रोक्सीक्लोरोक्वीन ट्यावलेट दिने निर्णय गरेको छ । अन्य मुलुकमा अमेरिका, स्पेन, जर्मनी, बहराइन, ब्राजिल, भुटान, अफगानिस्तान, माल्दिभ्स, बंगलादेश मोरिसस, डोमिनिक गणतन्त्र र सेचेलेस छन् । नेपालाई अन्य औषधि भने दिने निर्णय गरेको हो ।