काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले जेनजीको नाम भन्दै आफैँले सूची तयार पारेर राष्ट्रपति कार्यालयमा पठाएका छन् ।
‘वार्ताको लागि आह्वान भएपछि म आफैँले संवाद सचिवालयलाई सूची पठाएको हुँ,’ कार्कीले भने ‘जेनजी आन्दोलनमा सहभागी साथीहरुले दाइ तपाईंले पहल गरिदिनु भनेपछि मैले लिस्ट पठाएको हुँ । यो कुरा पार्टीसँग सल्लाह गरेर भएको होइन,’ उनले भने ।
स्रोतका अनुसार कार्कीले पठाएको सूचीमा धेरैजसो रास्वपा निकट युवाहरु रहेका छन् । जसमा युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्षा बम, रिजन रानामगर, नवीन राई, उपार्जन चाम्लिङ, अनुषा खनाल, नीरज गौतम ‘गोतामे’, सुस्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिषा चौधरी लगायतको नाम छ ।
प्रदीप ज्ञावली रास्वपा नेता विराजभक्त श्रेष्ठ मन्त्री बन्दा प्रमुख स्वकीय सचिव बनेका थिए । यस्तै अन्य सदस्यहरु अधिकांश उज्ज्वल थापा नेतृत्वमा बनेको विवेकशील नेपाली दलमा आबद्ध भएकाहरु छन् ।