धनगढी, २३ साउन / पछिल्लो एक महिना यता कैलाली जिल्ला कारागारमा निरन्तर जसो होहल्ला, कैदीबन्दीहरूको आपसी लफडा भैरहने गरेको छ। बिहिबार साँझ भएको लफडा शुक्रबार बिहानसम्म पनि समाधान हुन नसकेपछि कैलाली जिल्लाका प्रमुख गोगन बहादुर हमाल आफै कैदीबन्दीहरूको आपसी लफडा मिलाउन कारागारमा पुगेका छन्।
शुक्रबार बिहानैदेखि कारागारमा कैदीबन्दीहरूले नारा जुलुस सहित होहल्ला गरिरहेपछि कैलाली जिल्ला प्रमुख हमाल सहितको टोली कारागारमा कैदीबन्दीहरूको आपसी द्वन्द समाधान गर्न पुगेका हुन्। एक महिनादेखि कारागार प्रमुख वसन्त खत्री पनि बिरामी भएर बिदामा हुँदा कारागारमा भने दिनैपिच्छे कैदीबन्दीहरूको समूहगत झगडा भइरहने गरेको देखिन्छ ।
स्रोतका अनुसार “कैदीबन्दीहरूको नाइके चयन गर्ने देखि लिएर, बाहिर झगडा गरेर कारागार चलान भएका समूह पनि कारागारमै सक्रिय रहँदा दिनैपिच्छे कारागारमा झगडा हुने गरेको जानकारी दिए।
कारागारमा आफन्त भेट्न गएका एक सर्वसाधारणले कारागारमा दिनैपिच्छे भैरहने झगडाले गर्दा आफूहरुलाई झनै चिन्ता थपिने गरेको पीडा व्यक्त गरे। दिनैपिच्छेको झगडाले कारागारमा पनि कुनबेला के हुन्छ भनेर, आफ्नो मान्छेहरु सुरक्षित छैनन् कि भनेर, चिन्ता हुन्छ र भेट्न भनी कारागार पुग्दा सजिलैसँग भेट्न पनि नपाइरहेको गुनासो व्यक्त गरे।