धनगढी, २० साउन /समाचार संकलन गर्दै गर्दा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले फूलबारी खबरमा पत्रकार यज्ञराज अवस्थीलाई हप्काएका छन् । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशका विभिन्न वन अधिकारीकर्मीले ध्यानकर्षण सहितको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनमा खटिएका अवस्थीलाई आफ्नो आवाज रेकर्ड नगर्न भन्दै वन सचिव कोइरालाले हप्काएर टेवल अगाडि राखिएको ‘बुम माइक’ समेत हातले पर धकेलिदिएका हुन् ।
सञ्चारकर्मी अवस्थीले प्रयोग गरेको माइक हटाउन भन्दै ‘आवाज रेकर्ड गर्नु पर्दैन’ भनेर वन सचिव कोइरालाले हप्काएका हुन् । सचिव कोइरालाले मैले बोलेको सबैले सुनिएकै छन्, माइक नै तेर्साएर किन आवज रेकर्ड गर्नुप¥यो भन्दै ‘बुम माइक’ नै टेबुलबाट धकेलिदिएका हुन् ।
वन अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझाउने कार्यक्रममा नै सचिव कोइरालाले पत्रकारलाई हप्काउने तथा पत्रकारले प्रयोग गर्ने बुम माइकलाई टेबलबाट धकेलेर पर सार्नु सचिव स्तरको व्यक्तिको व्यवहार असुहाउँदो नभएको वन अधिकारकर्मी तथा एनफेकोफनका केन्द्रीय महासचिव डण्डीराज सुवेदीले बताए ।
उनले भने,‘हामीले वन मन्त्रालयका सचिवलाई ज्ञापन पत्र बुझाउन खोज्दा पत्रकारले टेवलमा राखेको बुम माइकलाई नै सचिव कोइरालाले मिल्काइदिए, उहाँ जस्तो गरिमामय पदमा बसेको मान्छेले त्यस्तो व्यहार गर्नु सुहाउँदो नभएको बताए।’
वन अधिकारकर्मीले बुझाएको ज्ञापन पत्रलाई पनि वन सचिव कोइरालाले सामान्यरुपमा लिँदै बुझेको भन्दै त्यस्तो व्यवहार पनि सुधार्न आग्रह गरेका छन् । वन सचिव कोइरालाले पत्रकारलाई गरेको व्यबहार ज्ञापनपत्र बुझाउन गएका अधिकारर्मीले प्रत्यक्ष देखेका थिए तर सचिव कोइरालाले घुमाउरो प्रतिक्रिया दिदै अब यस्तो नगर्ने बताए ।