धनगढी, १९ साउन/कैलालीको बौनियामा ब्रिजको ‘लक्ष्मी सिमेन्ट’ प्रयोग गरी घरमा लेन्टर गर्दा एक घरधनी बर्बाद भएका छन् । बौनियाका वीर चौधरी एक वर्षअघि आफ्नै घरको निर्माणका लागि बौनियास्थित सन्ज्याल हार्डवेयरबाट ब्रिज सिमेन्ट प्रयोग गरी ढलान गरे । उक्त समेन्ट प्रयोग गरी निर्माण गरेको घरको लेन्टर न ढलान भएको छ नत सेट नै भएको छ । सिमेन्ट ब्रिज ब्राण्डको लक्ष्मी सिमेन्ट भएको खुलेको छ । लक्ष्मी सिमेन्ट पनि बृज सिमेन्ट उत्पाद कम्पनीकै हो । रुपन्देहीमा रहेको पार्टल्याण्ड पोज्जोलना सिमन्ेटको बृज सिमेन्ट ईन्डष्ट्रिज प्रालि उत्पादक कम्पनी रहेको छ ।
बृज सिमेन्टमा नेपालको प्रतिष्ठित व्यावसायिक घराना केडिया अर्गनाइजेशनको ५० प्रतिशत स्वामित्व छ । बाँकी स्वामित्व भारतको शान्ता सिमेन्टको छ । सन् २००० देखि सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगको उत्पादन क्षमता प्रतिदिन १२ सय टन छ । सन् २०२० मा यो उद्योगले सिमेन्ट उत्पादन गर्नका लागि ८२ प्रतिशत कच्चा पदार्थ (क्लिंकर) अर्घाखाँची सिमेन्ट उद्योग प्रालिसँग किनेको छ । देशभर ३०० डिलर रहेको यस यो उद्योगले विभिन्न ५ ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।
चौधरीका अनुसार हार्डवेयरले “ब्रिजकै लक्ष्मी सिमेन्ट” भनेर पठाएको सिमेन्टबाट ढलान गरिएको थियो, तर २४ घण्टापछि पनि सिमेन्ट जम्न नसकेको चौधरीको आरोप छ । घर निर्माणमा संलग्न ठेकेदार रामप्रसाद चौधरीका अनुसार विगतमा ब्रिज सिमेन्ट प्रयोग गर्दा कुनै समस्या आएको थिएन, तर पछिल्लो पटक पठाइएको लक्ष्मी सिमेन्ट प्रयोग गर्दा तेस्रो दिनसम्म पनि ढलान सेट हुन नसकेको बताउँछन् । “हामीले जुन सिमेन्ट पठाइदियो, त्यही प्रयोग गरेर काम गर्छौं,” उनले भने ।
समस्या देखिएपछि हार्डवेयर व्यापारी कपिल सन्ज्याललाई जानकारी दिइएको थियो । उनले लक्ष्मी सिमेन्ट कम्पनीलाई खबर गरेको र कम्पनीले “गर्मीका कारण चिरा पर्न सक्छ” भन्दै समाधानस्वरूप ओपिसी सिमेन्टको घोल प्रयोग गर्न सुझाव दिएको बताए । कम्पनीले इन्जिनियरसहित टोली पठाउने भने पनि उपभोक्ता वीर चौधरीसँग सम्पर्क हुन नसकेको कपिल सन्ज्यालको भनाइ छ ।
तर चौधरीले भने आफूले बारम्बार सम्पर्क गर्न खोज्दा पनि कम्पनी वा प्रतिनिधिसँग प्रत्यक्ष संवाद हुन नसकेको र ठुलो धनराशिको नोक्सानी व्यहोर्नु परेको बताए । “मैले साथीको विश्वासमा हार्डवेयरले भनेको सिमेन्ट प्रयोग गरेँ, तर अहिले मेरो वर्षौँको कमाइमा नै क्षति पुगिरहेको छ,“ उनले दुख व्यक्त गरे । स्थानीय उपभोक्ताले कुनै ब्रान्डको सिमेन्ट प्रयोग गर्दा त्यसको गुणस्तरबारे स्पष्ट जानकारी हुनुपर्ने, हार्डवेयर र कम्पनीको पारदर्शिता नहुँदा आफु ठगिएको चौधरीले बताएका छन् ।