धनगढी १९ साउन / सुर्नया युवा जागरण अभियानले अत्तरियामा प्रवासबाट फर्किएका देशप्रेमी युवाहरूसँग प्रेरणादायी भेटघाट गरेको छ। भारतको श्रम बजारमा पसिना बगाइरहेका सुर्नयाका युवाहरू विभिन्न चाडपर्व लक्षित गरेर गाउँ फर्किरहेको अवस्थामा युवा सचेतनासहितको छलफल गरिएको अभियानका संयोजक विशाल भट्टले जानकारी दिए।
भेटघाटमा प्रवासी युवाहरूले प्रवासमा कमाएको जीवन अनुभव, विहानदेखि साँझसम्मको संघर्ष, र सुर्नयाप्रतिको सपना साझा गरे। उनीहरूको बोलीमा पीडा सँगै, नेतृत्व परिवर्तनको दृढता पनि बोकेर गाउँघर फर्किरहेको बताएका छन्।
तपाईंहरूको ऊर्जा, सपना र संघर्षले हाम्रो गाउँको उज्यालो सम्भावना देखिएको छ, अभियानका संयोजक भट्टले भने।
कार्यक्रमले युवामा नेतृत्व चेतना, सामाजिक उत्तरदायित्व र राजनीतिक जागरुकताको सन्देश बोकेको र आधारभूत स्तरमा नेतृत्व विकास र परिवर्तनको बीज रोप्ने युवा जागरण अभियानको यो पाइला अब बिस्तारै लहर बन्ने संकेत देखिएको समेत अभियानका संयोजक भट्टले दाबी गरेका छन्।