धनगढी, २५ साउन / सुदूरपश्चिमका विभिन्न शहर तथा राजमार्गमा ट्राफिक प्रहरीले नियमित रूपमा सवारी चेकजाँच गर्ने गरे पनि कानुनअनुसार राखिनुपर्ने सूचनापाटी प्राय: नदेखिने गरेको पाइएको छ। यसले सवारी चालक तथा यात्रुहरूमा असहजता र त्रास सिर्जना गरेको छ।
सवारी चेकजाँच अघि ‘सवारी चेकजाँच हुँदैछ’ भन्ने सूचनापाटी राख्नुपर्ने व्यवस्था भए पनि कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा लगायत जिल्लाहरूमा यो प्रावधान अधिकांश अवस्थामा उल्लङ्घन भइरहेको जनगुनासो छ।
धनगढीका एक स्थानीय सवारी चालक रमेश चौधरी भन्छन्, “कहिलेकाहीं रातको समयमै सडकबीचमै रोक्छन्, बोर्ड राखिएको हुँदैन। हामीलाई सुरुमा लाग्छ केही घटना भयो कि। यस्तो शैली डर लाग्दो हुन्छ।”
सडक सुरक्षाको मापदण्ड अनुसार ट्राफिक प्रहरीले चेकजाँच पारदर्शी र पूर्वसूचित रूपमा गर्नुपर्ने व्यवस्था छ। तर, सुदूरपश्चिमका धेरै स्थानमा प्रहरीको उपस्थिति देखिए पनि सूचनापाटी नराखी रोक्ने काम भइरहेको छ।
सुदूरपश्चिम राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय अतरियाका प्रहरी उपरीक्षक (एसपी) प्रेम बहादुर शाहीका अनुसार, “सूचनापाटी राख्नुपर्ने प्रावधान देशैभर लागू हुन्छ। स्थानीय तहमा यसको पालना हुनुपर्ने हो, त्यसतर्फ ध्यान नदिएको भए सुधार गरिने जानकारी दिए। अबको एक हप्ताभित्र सबैतिर लागू हुने उनको भनाइ रहेको थियो।
विशेषतः रातिको समयमा चेकजाँच गर्दा सूचनापाटी नहुनु, एक्कासि सवारी रोक्नु, र कहिलेकाहीं दुर्व्यवहारजस्ता गुनासो बढ्दै गएको छ। नागरिक समाजका अगुवा तथा यातायात क्षेत्रका व्यवसायीहरू यो विषयमा सचेत रहन प्रहरी प्रशासनलाई आग्रह गरिरहेका छन्।
स्थानीय सुरेश सापकोटा भन्छन् “चेकजाँच हुनु राम्रो कुरा हो, तर चालकलाई मनोवैज्ञानिक रूपमा तयार बनाउने उपाय हुनुपर्छ। सूचनापाटी राखेमा विश्वास र पारदर्शिता दुवै बढ्छ।”
यस सन्दर्भमा सुदूरपश्चिम ट्राफिक कार्यालयले सूचनापाटी प्रयोगको विषयमा फेरि निर्देशन जारी गर्ने तयारी गरेको जानकारी दिएको छ।