कैलाली, १२ साउन /सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाइले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका– २ र ४ मा तोकेको ७ वर्ष पुग्नै लागेको छ । २०७५ असोज १२ गते प्रदेश सभाको दुई तिहाइ बहुमतले प्रदेशको राजधानी तोकेको थियो । राजधानी तोकेको लामो समय बितिसक्दा पनि भौतिक प्रगतिको काम शून्य छ । प्रदेश सभाको दुई तिहाइ बहुमतले राजधानी तोकेको स्थानमा भौतिक संरचना निर्माण गर्नुको सट्टा प्रदेश सरकार अहिले सम्म अस्थायी राजधानी धनगढीबाट कामकाज गरिरहेको छ ।
गोदावरी क्षेत्रमा राजधानी निर्माणको विषयमा चासो दिनै छाडेको प्रदेश सरकारले पछिल्लो केही दिनयता भने राजधानी धनगढी सार्ने कसरत चालेको छ । मुख्यमन्त्री कमल बहादुर शाह राजधानी धनगढी सार्ने कसरतमा जुटेको छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग छलफल गरी सकेको बताइन्छ ।
यसरी करिब ७ वर्ष अघि प्रदेश सरकारको दुई तिहाइ बहुमतले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो राजधानी सार्ने चलखेल चलेपछि गोदावरीका स्थानीय विरोधमा उत्रिएका छन् । स्थानीयहरूले राजधानी गोदावरीमै कार्यान्वयन गर्न दबाब दिनका लागि चरणबद्ध कार्यक्रमहरू आयोजना गर्न थालेका छन् । सो विषयमा आइतबार बिहान छलफल कार्यक्रमको आयोजना गरिएको थियो । जसमा गोदावरीमा राजधानीको प्रक्रिया अघि बढाउनका लागि दबाब दिने उद्देश्यले भेलाको आयोजना गर्ने निर्णय गरिएको थियो । जसका लागि धन बहादुर बोगटीको संयोजकत्वमा समन्वय समिति बनाइएको थियो । त्यसपश्चात् आइतबार नै पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
सो सम्मेलनमा गोदावरीमा राजधानी कार्यान्वयन गर्ने विषयमा वृहत् भेलाको आयोजना गरिने बताइएको छ । समन्वय समितिका संयोजक बोगटीले करिब ७ वर्ष अघि घोषणा भएको राजधानी कार्यान्वयन गर्नुको साटो सार्ने चलखेल चलेपछि भेलाको आयोजना गर्न लागिएको बताए । उनले भेलामा गोदावरी क्षेत्रका स्थानीय तहदेखि प्रदेश सरकारका जनप्रतिनिधिहरूलाई समेत बोलाइने बताए ।
त्यतिखेर अध्ययन गरेर नै उपयुक्त ठाउँमा राजधानी तोकिएको हो’ उनले भने ‘त्यसलाई कार्यान्वयन हुनुपर्छ भनेर यस क्षेत्रका सम्पूर्ण सरोकारवाला, नागरिक समाज, यस क्षेत्रका दुवै कार्यकालमा नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूलाई बोलाएर प्रतिभा पुस्तकालयको हलमा हामीले भेलाको आयोजना गर्ने भएका छौ ।’ उनले आफूहरूले आज (सोमबार) भेलाको आयोजना गर्न लागेको बताए ।
उनले यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूका सुझाव र सल्लाह अनुसार आगामी दिनका आन्दोलनका कार्यक्रमहरू तयार गरिने बताए । उनले आफूहरूले ७ वर्ष अघि राजधानी तोकेकै ठाउँमा कार्यान्वयन हुनुपर्दछ भन्ने माग राखेको बताए ।
स्थानीय शङ्कर खड्काले प्रदेश राजधानी अन्यत्र सारिए स्वीकार्य नहुने बताए । उनले दुई तिहाइ बहुमतले तोकेको स्थानबाट बहानाबाजी र षडयन्त्र गरेर राजधानी सारिए कडा रूपमा आन्दोलनका कार्यक्रमहरू गरिने बताए । ‘राजधानी हाम्रो भविष्यको बाटो र पहिचान हो’ उनले भने ‘यसलाई पनि अन्य ठाउँमा सार्न खोजिन्छ भने हामी कदापि सहनेवाला छैनौ ।’
राजधानी तोकिएको स्थानमा जङ्गल भएको भन्दै अदालतमा मुद्दा परेको थियो । गोदावरीको वन क्षेत्र मासिने भन्दै गोदावरीमा राजधानी राख्ने निर्णयविरुद्ध २०७५ सालमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । जैविक मार्ग मासेर प्रदेश राजधानी स्थापना गर्ने निर्णय गरिएको भन्दै मनीकुमार श्रेष्ठ र देवीकुमारी जोशीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
मुद्दा मामिलाका कारण प्रदेशसभाले तोकेको स्थायी राजधानी गोदावरीमा काम अघि बढ्न नसकेको बताइँदै आएको छ । उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ । मुद्दाकै कारण प्रदेश सरकार पनि सो क्षेत्रमा राजधानी निर्माण गर्ने कुरामा पछि हट्दै आएको छ ।