धनगढी, ६ साउन / अपाङ्गता भएका व्यक्तिहरूको आत्मनिर्भरता र सशक्तिकरणलाई लक्षित गर्दै सफल नेपाल संस्थाको आयोजनामा र एविलीस फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित सात दिने कुचो तथा बाँसको मुडा बनाउने तालीम सम्पन्न भएको छ।
तालिमको समापन समारोहमा सहभागी १५ जनालाई प्रमाणपत्र वितरण गरिएको छ। प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले प्रमाणपत्र वितरण गर्दै भने, “अपाङ्गता भएकाहरूले सीप सिकेर नतिजा देखाइसकेका छन्। अब सरकारले यस्ता कार्यक्रमहरूमा थप लगानी गर्नुपर्छ ।
पाठकले आफू विगतदेखि नै अपाङ्गता सम्बन्धी मुद्दाहरूमा आवाज उठाउँदै आएको र भविष्यमा पनि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
समारोहको अध्यक्षता सफल नेपाल संस्थाकी अध्यक्ष रुपा रानी राईले भनिन्, सहभागीहरूमा आएको सकारात्मक परिवर्तनले संस्थालाई आगामी दिनमा थप यस्ता कार्यक्रम सञ्चालन गर्न हौसला दिएको उनको बुझाइ छ । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई ठुलो सहयोग हुने समेत उनले अपेक्षा गरेकी छन्।
कार्यक्रम सफल नेपालका सचिव मान बहादुर बिष्टले संचालन गरेका थिए।