धनगढी, ४ साउन / धनगढी उपमहानगरपालिका सुदूरपश्चिम प्रदेशकै एकमात्र उपमहानगरपालिका हो। धनगढीमा मात्रै साइकल लेन सहितको व्यवस्थित सडक छ। साइकल लेन निर्माण गर्दाका बखत एकदमै जागरुकता देखाएको नगर प्रहरीले अहिले चासो दिनै छोडेपछि साइकल लेन पार्किङ स्थलमा परिणत भएको छ।
यही गुनासो सुदूरपश्चिम प्रहरी प्रमुख डम्बरबहादुर विश्वकर्मा र सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख प्रेमबहादुर शाहीसँग पुगेपछि कैलाली जिल्ला ट्राफिक प्रहरी बलले आज धनगढी बजार क्षेत्र भित्र रहेको साइकल लेनमा गरिएको पार्किङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख चक्रबहादुर देउबाको कमान्डिङमा हटाइएको छ।
कैलाली जिल्लाका ट्राफिक प्रहरी प्रमुख देउबाले भने ‘आज सचेत गराउँदै साइकल लेनमा पार्किङ नगर्न अनुरोध सहित पार्किङ गरेको हटाएका छौं, यदि उक्त अनुरोधलाई नमानेको खण्डमा भने जो कोहीले पनि कारबाहीको भागीदार हुनुपर्ने उनको भनाइ छ’।
तर सर्वसाधारणको भने आफ्नै समस्या रहेको देखिन्छ, वर्षौंदेखि एक सटर भाडामा लिएर व्यापार गरिरहेका व्यापारीसँग आफ्नो कुनै पार्किङ गर्ने ठाउँ छैन। सडक छेउ मै पसल छ त्यसमा पनि नागरिकको लागि आवतजावत गर्न पैदल मार्ग बनाइएको छ। यसरी हेर्दा सडक निर्माण गर्नु पूर्व नै पार्किङको लागि पनि ध्यान दिनुपर्थ्यो , सडकको छेउमा पार्किङ गर्नुहुन्थ्यो। त्यसमा पनि उपमहानगरपालिकाले साइकल लेन बनाएर झनै ठूलो समस्या सिर्जना गर्यो अब पार्किङ कहाँ गर्ने यसको पनि विकल्प उपमहानगरपालिकाले खोज्नुपर्ने सर्वसाधारणहरूको माग रहेको छ।
कुनै पनि ग्राहक एक किलोमिटर टाढा पार्किङ गरेर आफूहरूको पसलमा सामान किन्न आउँछ भन्ने कुनै ग्यारेन्टी छैन। यसको जिम्मेवारी कसले लिन्छ भन्दै व्यापारी गणेश श्रेष्ठले दुखेसो पोखे।