यमुना साउद/धनगढी २० असार । चुरेकी रिता (नाम परिवर्तन)ले सेती प्रादेशिक अस्पतालबाट पछिल्ला तीन वर्ष यता तीन पटक गर्भपतन गराइन् । तर, तीनै पटक सुरक्षित गर्भपतन सेवा लिएपछि परिवार नियोजनका साधनको नियमित प्रयोग गरिनन् । ‘तिन सन्तान छोरी जन्मिसकेकी थिइन् । परिवारमा छोरा चाहिन्छ भन्ने दबाब आयो, अहिले पनि आइरहेको छ । छोराकै आसमा तिन पटक गर्भपतन गराउन बाध्य भएँ ।,’उनले भनिन्,‘परिवार नियोजनका साधनको नियमित प्रयोग नगर्दा नचाहेरै गर्भ रह्यो र गर्भपतन गराउनुपर्ने अवस्था सिर्जना भयो ।’
धनगढीकी सरिता (नाम परिवर्तन)ले श्रीमानले परिवार नियोजनका साधन प्रयोग गर्न अस्वीकार गरेपछि दोस्रो पटक गर्भपतन गराएकी छिन्। पहिलो पटक भने उनले स्वास्थ्य जटिलताका कारण गर्भपतन गर्नुपरेको थियो। ‘पहिलो गर्भ करिब तीन महिना हुँदा रक्तस्राव नरोकिएपछि बाध्य भएर गर्भपतन गराएँ । यो पटक भने श्रीमानले परिवार नियोजनका साधन प्रयोग गर्न नमानेपछि फेरि गर्भपतन गर्नुप¥यो,’ सरिताले भनिन्।
पहिलो पटक उनले निजी क्लिनिकमा गर्भपतन गराएकी थिइन्। त्यति बेला सुरक्षित गर्भपतन सेवा कहाँ पाइन्छ भन्ने थाहा नभएकाले उनी निजी क्लिनिक गएकी थिइन्। दोस्रो पटक भने छरछिमेकबाट जानकारी पाएर सुरक्षित गर्भपतन सेवाका लागी नेपाल परिवार नियोजन सङ्घ कैलाली पुगेकी हुन्। ‘पहिले मलाई सुरक्षित गर्भपतन सेवा कहाँ पाइन्छ भन्ने थाहा थिएन। अहिले भने नेपाल परिवार नियोजन सङ्घ कैलाली आए ।,’ उनले सुनाइन्।
यस्तै धनगढीकी २५ वर्षीय रश्मि (नाम परिवर्तन) ले पछिल्ला दुई वर्षमा दुई पटक गर्भपतन गराइन् । अहिले उनको दुई वर्षीय छोरी छ । छोरीको स्याहार र पालनपोषणमा कठिनाइ हुने भन्दै उनले दोस्रो पटक पनि गर्भपतन गर्नुपर्ने अवस्था आएको बताइन् । ‘श्रीमानले परिवार नियोजनको कुनै पनि साधन प्रयोग गर्न मान्नुहुन्न,’ रश्मिले भनिन्, ‘मैले नै बारम्बार गर्भ रोक्नुपर्ने अवस्था आइरहेको छ ।’ छोरी पनि सानै र आर्थिक अवस्था कमजोर भए पछि अर्को बच्चा जन्माउने अवस्था नभएपछि उनी गर्भपतन गर्न बाध्य भएको बताउँछिन्।
‘एउटै छोरीलाई सम्हाल्न पनि हम्मे हम्मे पर्छ, छोरी सानै हुँदा अर्को बच्चा भए कति गाह्रो हुने हो भनेर धेरै सोच्यौ । श्रीमान् अहिले रोजगारीको लागी भारत हुनुहुन्छ । मैले एक्लै हेरचाह गर्न नसक्ने भएपछि म आफैँ गएर गर्भपतन गराएँ।’रश्मि भनिन् । रिता , सरिता र रश्मिको अनुभव थुप्रै महिलाहरूको जस्तै हो। श्रीमान् परिवार नियोजनमा असहयोगी हुँदा, गर्भपतन पछि आउने समस्याबारे जानकारी नहुँदा र सामाजिक डरका कारण (छोरा नभएका कारण) कतिपय महिला गर्भपतन गराउन बाध्य छन्।
गर्भवती महिलाको मन्जुरीमा, कानुनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आर्थिक वर्ष ०७९/८० मा सुदूरपश्चिम भरीमा १३ हजार ४ सय ९३ जनाले गर्भपतन गराएका छन्। जसमध्ये पाँच सय ८३ महिला २० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । अवैध गर्भ बसेपछि अविवाहित किशोरीले समेत गर्भपतन गराउने गरेका छन्। यस्तै गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गइरहेको छ । आर्थिक वर्ष ०८०/८१ मा बढेर १५ हजार ९ सय ९८ ले गर्भपतन गराएका छन् । यस मध्ये ८ सय ३३ महिला २० वर्षभन्दा कम उमेरका रहेका छन् । यस्तै आर्थिक वर्ष ०८१/८२को साउन देखी चैत सम्म ८ हजार ७ सय ९८ जनाले गर्भपतन गराएका छन् । यसमा पनि ३ सय ४९ जना २० वर्ष भन्दा कम उमेरका रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका शिक्षित क्षेत्रहरूमा गर्भपतनको सङ्ख्या तुलनात्मक रूपमा बढी देखिएको छ । स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म धनगढी उपमहानगरपालिकामा १ हजार २०४ महिलाले गर्भपतन गराएका छन्। त्यस्तै गोदावरी नगरपालिकामा १ हजार १७५ जना महिलाले गर्भपतन गराएको तथ्याङ्कले देखाएको छ। भीमदत्त नगरपालिकामा ४ सय ७७, टीकापुर नगरपालिकामा २ सय १७ जना महिलाले गर्भपतन गराएका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार यस वर्ष सबैभन्दा कम गर्भपतन साइपाल गाउँपालिकामा एक जना र बझाङको सुर्मा गाउँपालिका तथा दार्चुलाको व्यास गाउँपालिकामा शून्य रहेको छ।
परिवार नियोजनका साधन प्रयोग नगर्दा महिलाहरू पटक पटक गर्भपतन गराउन बाध्य हुने गरेको परिवार नियोजन सङ्घ कैलालीका प्रमुख चेतराज फुलाराले बताए ।
‘महिलाहरूलाई नियमित रूपमा परिवार नियोजनका साधनबारे सल्लाह सुझाव दिइरहेका हुन्छौँ। तर पनि उनीहरू पुनः गर्भपतनका लागि आइरहेका हुन्छन्,’ फुलाराले भने। पुरुषले परिवार नियोजनका साधन प्रयोग गर्न नमाने पछि महिलाहरूमा अनिच्छित गर्भ रहन जाने, त्यसपछि गर्भपतन गराउने प्रवृत्ति दोहोरिने गरेको उनले बताए ।
पछिल्लो समय गर्भपतन गराउन आउने महिलाहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। यसले महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने मात्र होइन, मानसिक तनाव पनि बढाउने गरेको फुलाराले बताए ।
‘हामीले श्रीमानहरूलाई समेत लक्षित गरेर परिवार नियोजनसम्बन्धी जनचेतनामूलक कार्यक्रम र शिविर सञ्चालन गरिरहेका छौँ,’ फुलाराले भने , ‘तर व्यवहारमा परिवर्तन आउन अझै समय लाग्ने देखिन्छ । यस्ता शिविरमा ग्रामीण समुदायका व्यक्तिहरु धेरै सहभागी हुने गरेको तर सहर तिर अझै पनि सहभागी कम हुने गरेको प्रमुख फुलाराले बताए । उनले भने ‘किन भने सहरमा शिविर भनेपछि खासै वास्ता गर्दैन । सरकारीमा पनि को जान्छ? भन्छन् । बरु निजी अस्पताल जान्छन् ।’
गर्भपतनका कारण महिलाहरू विभिन्न स्वास्थ्य समस्यामा पर्ने गरेको परिवार नियोजन संघमा कार्यरत स्टाफ नर्स सुमिला श्रेष्ठ महराले बताउँछिन् । गर्भपतन गर्दा पाठेघरको क्यान्सर, बच्चा नबस्ने बाझोपन, रक्त श्राप, बच्चा बस्दा पनि आफैँ खस्ने समस्या तथा पाठेघरमा विभिन्न प्रकारका सङ्क्रमण हुने सम्भावना रहने नर्स सुमिला श्रेष्ठ महराले बताइन्।
पटक पटक गर्भपतन गराउने महिलाहरूलाई यसरी गर्भपतन नगर्न उनी सम्झाइ बुझाइ गर्छिन् । तर, एक पटक गर्भपतन गराएका महिलाहरू पनि पुनः आउने गरेका छन्। महरा भन्छिन्, ‘हाम्रो त सेवा दिने काम हो, गर्नै पर्छ।’ अझै २० वर्ष नपुगी गर्भपतन गर्नेहरूलाई अझै जोखिम हुने गरेको उनले बताइन् । उनी भन्छिन् ‘सेवा लिन १८ नकटेका किशोरीहरू पनि आउँछन्। २० वर्ष नपुगी विवाह दर्ता हुँदैन। यस्ता केसहरूमा उनीहरूसँग काउन्सिल गरी सेवा दिइरहेका छौँ। प्रायः जसो त गर्लफ्रेन्ड बोइफ्रेन्ड नै आउँछन्।’
दक्ष स्वास्थ्यकर्मीको सल्लाह बिना औषधि सेवन गरेर गर्भपतन गराउँदा ज्यान नै जोखिममा पर्न सक्ने उनले बताइन् ।‘बाहिर मेडिकलमा औषधि किनेर खाँदा अझ समस्या आउँछ, किनकि त्यहाँ दक्ष स्वास्थ्यकर्मी हुँदैनन्। कुन अवस्थामा औषधि दिन मिल्छ, कुन अवस्थामा मिल्दैन भन्ने थाहा नपाए औषधि खाँदा ज्यान नै जोखिममा पर्न सक्छ।’ उनले भनिन् ।
गत वर्ष धनगढीकै जुगेडामा गर्भपतनको लागि औषधि खाँदा एक महिलाको ज्यान गएको महराले बताइन् । धेरै महिलाहरू बाहिरबाट औषधि खाएर समस्या सिर्जना भएपछि परिवार नियोजन संघमा सेवा लिन आउने गरेको समेत उनले बताइन् । ‘दुई–तीन महिनासम्म रक्त श्राप भएर नरोकिए पछि मात्र हामी कहाँ आउँछन्। मेडिकलमा त त्यो औषधि चकलेट किनेर खाएजस्तो भइरहेको छ। खाने तरिका पनि उनीहरूलाई थाहा हुँदैन। कतिपय मेडिकलमा त यसको व्यापार नै चलिरहेको छ,’ महराले भनिन्। उनले असुरक्षित गर्भपतन रोक्न सरकारले अनुसन्धान गरी आवश्यक पहल गर्नुपर्ने बताइन्।
सस्तो र सरल उपाय सहजै उपलब्ध हुँदाहुँदै पनि महिलाहरू अझै पनि महँगो र पीडादायी गर्भपतन गराउन बाध्य छन्। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका प्रमुख खगेन्द्र बमका अनुसार यो अवस्था परिवार नियोजनप्रतिको बुझाइ र बेवास्तासँग गहिरो रूपमा जोडिएको छ।
‘स्वास्थ्य संस्थाहरूमा पर्याप्त मात्रामा परिवार नियोजनका साधनहरू उपलब्ध छन्,’ प्रमुख बम भन्छन्, ‘तर पनि गर्भपतनलाई नै विकल्पको रूपमा रोजिनु, बेवास्ता र सामाजिक सोचको प्रतिफल हो।’ पुरुषले आफूले साधन प्रयोग गर्न नचाहने तर महिलालाई बारम्बार गर्भपतन गराउन बाध्य पार्ने प्रवृत्तिले महिलाको स्वास्थ्यमा दोहोरो असर पारिरहेको उनले बताए । यो प्रवृत्तिले महिलाको मानसिक र शारीरिक स्वास्थ्यमा दीर्घकालीन असर पार्ने गरेको बताउँदै बमले यस विषयमा गम्भीर रूपमा ध्यान दिनुपर्ने बताएका छन्।
ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा गर्भपतन गराउनेको सङ्ख्या बढी रहेको उनले बताए। ‘सहरमा साधनहरू सहज छन्, जानकारी पनि प्रशस्तै छ ,तर पढेलेखेका युवा–युवतीले नै लापरबाही गर्ने प्रवृत्ति देखिएको छ।’ अशिक्षित समुदायको तुलनामा शिक्षित समुदायका युवा–युवती नै बढी गर्भपतन गराइरहेका छन् । उनले भने, ‘शिक्षा भएको, जानकारी भएको, पहुँचमा रहेका व्यक्तिहरूले नै परिवार नियोजनप्रतिको बेवास्ता गरिरहेको पाइन्छ, जुन चिन्ताजनक विषय हो।’
पछिल्लो समय किशोर–किशोरीसमेत गर्भपतन गराइरहेको उनले बताए । लिभिङ टुगेदर जस्ता कारणले पनि समस्या गहिरिँदै गएको उनले बताए। ‘गर्भपतनको दर बढ्नुमा परिवार नियोजनको साधन प्रयोग नगर्नु प्रमुख कारण हो, यसको असर अहिले जनसङ्ख्या घट्नुमा समेत परिरहेको छ।’ गर्भपतन न्यूनीकरणका लागि परिवार नियोजनका साधनको पहुँच अझ सहज बनाउनुका साथै बालविवाह न्यूनीकरण गर्नुपर्ने प्रमुख बमले बताए । साथै, छोराप्रतिको मोहले समेत महिलालाई बारम्बार गर्भपतन गर्न बाध्य बनाएको उदाहरणहरू देखिएको आएको उनले बताए । यस विषयमा कलेज तहसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
अनिच्छित गर्भधारण रोक्नका लागि परिवार नियोजनका साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्र्याइँ गर्ने गरेका कारणले सुदूरपश्चिममा गर्भपतन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कुनै बेला नेपालमा जुनसुकै अवस्थामा पनि गर्भपतन गराउनलाई अपराध मानिन्थ्यो। धेरै महिला यो अपराध गरेबापत जेलमा परेका थिए। २०५९ साल असोजमा नेपालमा निश्चित अवस्था र परिस्थितिमा गर्भपतन गराउनलाई वैधानिक ठह¥याइयो। सहर बजारमा सरकारी र निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउने सुविधा पनि दिइयो। तर अहिले परिवार नियोजनको साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रूपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ । गर्भपतन गराउनेमा पनि शिक्षित समुदायका युवा–युवती नै बढी छन् ।
अहिले नेपालमा गर्भपतनलाई गर्भ निरोधकका साधनको विकल्पका रूपमा पनि अपनाउने गरिएको देखिएको छ । यो महिलाको स्वास्थ्यमा गम्भीर खतरा हो। किनभने जुनसुकै सुरक्षित गर्भपतन गराए पनि त्यसबाट मानसिक र पछि चाहेका बेलामा गर्भ नरहने सम्मका शारीरिक असरहरू पर्दछन्। गर्भपतनको बढ्दो दर सस्तो, सुरक्षित र सरल विकल्पहरू सहजै उपलब्ध हुँदाहुँदै पनि महिलाहरू महँगो र पीडादायी विकल्प रोज्न बाध्य हुनु गम्भीर सामाजिक र स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ । स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा परिवार नियोजनका साधनहरू भए पनि त्यस्ता साधनप्रति समाजमा अझै पनि बेवास्ता र गलत धारणा रहेको पाइन्छ। विशेषतः पुरुषको गैर जिम्मेवार व्यवहार, छोराप्रतिको मोह र शिक्षित समुदायभित्रै देखिएको लापरबाहीले महिलालाई बारम्बार गर्भपतन गराउन बाध्य बनाइरहेको छ । जसले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेको छ।
सहरमा साधन र जानकारी सहज हुँदाहुँदै पनि त्यही समुदायबाट बढी गर्भपतन हुनु शिक्षा र चेतनाबिचको अन्तरको स्पष्ट रूपमा देखिएको छ । किशोर–किशोरीदेखि युवासम्मको समूहमा परिवार नियोजनको सही जानकारी र व्यवहारगत परिवर्तन ल्याउन कलेज स्तरमै जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको छ । यसका साथै बालविवाह न्यूनीकरण, लैङ्गिक समानताको प्रवद्र्धन र पुरुषको सक्रिय सहभागिताबिना गर्भपतनको समस्या न्यूनीकरण सम्भव देखिँदैन। परिवार नियोजनका साधनलाई विकल्पका रूपमा होइन, जीवनशैलीको अभिन्न अङ्गका रूपमा अङ्गीकार गर्नु अहिलेको प्रमुख आवश्यकता देखिएको छ ।