नेपाली राजनीतिका दुई बाटा : आत्मसमर्पण र आत्मसम्मान
नेपालको राजनीतिमा टिकिरहने हो भने दुईवटा बाटामध्ये एउटा रोज्नैपर्छ । पहिलो बाटो हो, “उ जस्तै हुन सक्नुपर्छ” । यसको अर्थ हो, जसका पछि लागियो उसकै जस्तो देखिन सक्नुपर्छ, उसले जे भने पनि “हुन्छ”, “ठिकै छ”, “बुझिन्छ” भन्न सक्नुपर्छ । यसलाई राजनीतिक वफादारी, भनौं निःशर्त समर्थन भनेर बुझ्न सकिन्छ ।
यसरी वफादार बनेपछि, राजनीतिमा अनेक मोड आउँछन् , भोलि मन्त्रीको टिकट पाउन सकिन्छ, कुनै आयोगमा नियुक्ति, न्यायालयमा सिफारिस, राजदूत बन्ने सम्भावना… जुनसुकै सत्ता केन्द्रमा घुस्न सकिने ढोका खुल्ला रहन्छ ।
तर, यही वफादारी कहिलेकाहीँ बोझ पनि बन्छ । धेरै झुन्डिने हो भने “झुन्ड” नै भइन्छ , न त आफैं बोल्न सकिन्छ, न त सोच्न सकिन्छ । निर्णय अरूले गर्छन्, जिम्मेवारी आफैंले बोक्नुपर्छ ।
अर्को बाटोचाहिँ फरक छ ,त्यो हो “गलतलाई गलत भन्न सक्ने आँट” राख्ने बाटो । चाहे पार्टीले टिकट नदियोस्, कुनै पदमा नियुक्ति नभए पनि गलतविरुद्ध स्वर उठाइरहने अडान लिने बाटो । यो बाटोमा हरेक मोडमा जोखिम छ संगठनभित्रै प्रश्न उठाउँदा कारवाहीको सिकार हुनुपर्छ, एक्लिँनु पर्छ, गालि खानुपर्छ ।
तर यही बाटोले स्वतन्त्र नागरिक बन्ने बाटो खुलाउँछ । न स्वार्थको बन्दी, न सत्ताको गुलाम
नेपालको वर्तमान राजनीतिक संरचनालाई नियाल्दा, त्यो संरचना एक जनाले मात्र होइन राज्यका हरेक अंगहरूमा गहिरोसँग गढिएको देखिन्छ । अदालत, प्रशासन, नियुक्ति, सुरक्षातन्त्र, दल सबै कताकता त्यसै प्रणालीको घेराभित्र छन् ।
त्यसैले “सिस्टमसँग लड्छु” भन्नु सजिलो हो, तर त्यो प्रणालीको गहिरो जरा देख्दा लाग्छ अब या त अरूजस्तै हुन सक्नुपर्छ, या त सबैभन्दा फरक भएर उभिन सक्नुपर्छ ।
दुवै बाटो सजिलो छैन, एकले आत्मसम्मान मार्छ, अर्काले अस्तित्वमाथि खेलवाड गर्छ । तर यथार्थ त्यही हो — नेपालमा राजनीति गर्नेले यही दुईमध्ये एक रोज्नैपर्छ ।
लेखक :- कुबेर राज जैशी (कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत हुनुहुन्छ..)