धनगढी/ दिनभरी कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका एक हजार बढी जनालाई २१ बसमा गन्तव्य पठाईएको छ। संघीय सरकारको आदेशपछि सुदूरपीश्चम सरकार र स्थानीय प्रशासनले यातायात प्रालीसंग समन्वय गर्दै २१ वटा बसमा उनीहरुलाई गन्तव्य पठाएका हुन्। सुदूरपश्चिम बाहिर चार, १२ वटा सुदूरपश्चिम ६ पहाडी जिल्ला, टिकापुर क्षेत्रमा चार र महेन्द्रनगर एक गाडी पठाईएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले केही यात्रु छुटेका भए थप बसको व्यवस्थापन गरिने बताए। उनले भने, ‘सुदूरपश्चिमका नौँ जिल्ला मध्ये बाजुरा बाहेकका ८ जिल्लाका ८ सय ७६ र अन्य १३ जिल्लाका एक सय २३ जनालाई सीमामै बसबो व्यवस्थापन गरेर पठाउन लागिएको छ।’
कैलालीका मात्रै दुई सय ९१ जनालाई गन्तव्य पठाईएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले आफ्नो समितिले मात्रै १५ वटा गाडी यात्रुलाई पुगाउन दिएको जानकारी दिए। उनीहरुलाई स्कटिङमा गन्तव्य पुगाईनेछ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आज सम्म दशगजा क्षेत्रमा पुगेका नेपालीहरुको विवरण तयार पारी गन्तव्य पठाईएको बताए। उनका अनुसार प्रदेश सरकारको सहयोगमा प्रत्येक स्थानीय तहले क्वारेन्टाईनमा राख्ने समेत निर्णय भएको छ।