धनगढी, १ जेष्ठ / धनगढीमा नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानीमा कोलिफम भेटिएको छ। धनगढी उपमहानगरले गरेको परीक्षणमा खानेपानी संस्थानले वितरण गर्ने पानीमा कोलिफम भेटिएको हो।
धनगढी उपमहानगरपालिकाले नेपाल खानेपानी संस्थानको विभिन्न ठाउँको पानी टंकी, शिवनगर खानेपानी तथा व्यक्तिका नल, खानेपानीको धारा तथा घरमा भरेको पानीको नमुनाहरू संकलन गरेर परीक्षण गर्दा जुगेडास्थित खानेपानी मुल टंकीको पानीमा कोलिफम फेला परेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। उनले अधिकांश नल, डिप बोरिङ, घरको खानेपानीको धारा तथा जुगेडामा रहेको खानेपानी संस्थानको मुल टंकीको पानीमा कोलिफम फेला परेको बताए।
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका खानेपानीको टंकी र व्यक्तिगत धारा र नलको विभिन्न ४५ वटा पानीको नमुना संकलन गरेर परीक्षण गरेको हो। जुगेडास्थित खानेपानी टंकीको दुई पटक नमुना परीक्षण गरिएकोमा दुबै पटक कोलिफम देखा परेको अवस्थीले बताए। “हामीले १९ वटै वडाको विभिन्न स्थानबाट ४५ नमुना संकल्न गरेर परीक्षण गर्दा जुगेडास्थित खानेपानीको मुल टंकी र सबैजसो नल तथा आर्टिजनको पानीमा कोलिफम अर्थात् दिशाजन्य पदार्थ भेटिएको छ,” उनले भने, ” जुगेडाको खानेपानीको मुल टंकीकै पानीमा कोलिफम भेटिएको छ। पहिलो पटक कोलिफमको मात्रा प्रति सय एमएल पानीमा ४ सिएफयु भेटिएकोमा दोस्रो पटक नमुना परीक्षण गर्दा दुई सिएफयु फेला परेको छ।”
जुगेडाको मुल टंकीको खानेपानीमा कोलिफम देखा परे पनि अन्यत्रको खानेपानी संस्थानको पानी तथा शिवनगर खानेपानी योजनाको मुल टंकीको पानीमा भने कोलिफम फेला नपरेको अवस्थीले बताए।