धनगढी, २३ वैशाख / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा गएको १० सदस्यीय प्रतिनिधिमण्डलको भारत भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। भारत सरकारको निमन्त्रणामा उक्त भ्रमण वैशाख १६ गतेदेखि सुरु भएको हो।
मुख्यमन्त्री शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, सचिवहरू र विशेषज्ञहरू सम्मिलित थिए। भ्रमणको क्रममा प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा भारत सरकारका उच्चस्तरीय अधिकारीहरू, विभिन्न प्रदेश सरकारका प्रतिनिधिहरू तथा विकास साझेदारहरूसँग भेटवार्ता र छलफल गरेको थियो। यस भ्रमणमा दुई देशबीचको आपसी सहयोगलाई अझ सुदृढ पार्ने विषयमा व्यापक चर्चा गरिएको छ।
मुख्यमन्त्री शाहले भ्रमणलाई ऐतिहासिक अवसरका रूपमा वर्णन गर्दै भारत र सुदूरपश्चिम प्रदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। भ्रमणको क्रममा कृषि, जलविद्युत्, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, स्वास्थ्य सेवा, शिक्षा र सीमावर्ती क्षेत्रको समृद्धि जस्ता प्रमुख क्षेत्रहरूमा आपसी सहकार्य विस्तार गर्ने विषयमा समझदारी भएको बताए ।
मुख्यमन्त्री शाहले भारत सरकार र सम्बन्धित निकायप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता भ्रमण र छलफलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। भ्रमणले सुदूरपश्चिम प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न, सीमावर्ती समस्याहरू समाधान गर्न तथा स्थानीय जनताका आवश्यकता सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको समेत बताए।
प्रतिनिधिमण्डल आज भारतबाट स्वदेश फर्किएको छ।