अत्तरिया, २३ वैशाख / अत्तरियामा तीन वर्षअघि निर्माण गरिएको कल्भर्ट अझै प्रयोगमा आउन सकेको छैन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडक डिभिजन कार्यालय महेन्द्रनगरमार्फत निर्माण गरिएको कल्भर्ट दुवैपट्टि भरान नगरिँदा सञ्चालनमा आउन नसकेको हो।
२०७९ सालमा अत्तरियाको पूर्व रोड, पहाड रोड र महेन्द्रनगर रोडमा रहेका कल्भर्टहरू चौडा गर्न चन्द ग्रुप सप्लायर्ससँग करिब डेढ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार तीनवटै कल्भर्ट निर्माण भए पनि पूर्व रोडको कल्भर्टको दायाँ–बायाँ भरान नहुँदा यो हालसम्म प्रयोगविहीन बनेको छ। सडक डिभिजन कार्यालयले पुरानो कल्भर्टकै ठाउँमा दुवैतर्फ ४–४ मिटर थप गरी चौडा गरेको भए पनि भरानको काम रोकिएपछि कल्भर्ट सञ्चालनमा आउन सकेको छैन।
स्थानीय जयन्ती बिकका अनुसार, बजार क्षेत्रमै पर्ने कल्भर्ट अलपत्र हुँदा दुर्घटनाको जोखिम बढेको छ। उनले भनिन्, ‘सडक साँघुरो भयो भनेर कल्भर्ट बनाइएको होला जस्तो लागेको थियो। तर, अब यो त हेर्नकै लागि मात्रै बनेको हो कि भन्ने लागेको छ। कम्तीमा दुवैतर्फ माटो भरान गरेर सञ्चालनमा ल्याइदिए राम्रो हुन्थ्यो।;’
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिस प्रसाद जोशीले पछिल्लो अवस्थाका बारेमा अपडेट नभएकाले कारण खुल्न नसकेको बताउँदै आवश्यक विवरण बुझेर मात्र प्रतिक्रिया दिन सकिने जानकारी दिए।
हाल कञ्चनपुरको गड्डाचौकीदेखि चिसापानीसम्म ४ लेन सडक विस्तार योजना अघि सारिएको भए पनि कहिले काम सुरु हुन्छ भन्ने विषयमा अन्योल छ। यसबीच सडकका खाल्डाखुल्डी मात्रै पुर्ने काम भइरहेकाले यात्रा गर्न गाह्रो भइरहेको स्थानीयले बताएका छन्।