आमा रुनु हुन्छ, गुरुआमा चिच्याउनु हुन्छ,
समाजको आँसुमा पनि लाज हराइसक्यो ।
आज आमाको मुख हेर्ने दिन,
माया र सम्मानको पवित्र घडी,
तर सत्ता तात्तिएको छ, मात्तिएको छ,
निर्दयी आदेश बर्सिएको छ ।
प्रहरीको बुटले गुरुआमाको निधार र आँखा फुटेको छ ,
कसरी हेर्छाै ?
आफ्नो आमाको अनुहार यो कठोर घडीमा ?
प्रधानमन्त्रीको हस्ताक्षरले, गृहमन्त्रीको हुकुमले,
सपना र ममताको फुलवारीमा बारुदको गन्ध छरेको छ ।
मुख हेर्ने दिन ,खुट्टा ढोग्ने दिन ,
फूल चढाउने दिन,
तर,आज रगत चढियो, आँसु अर्पण भयो।
तिमिले कुन बाटो रोज्यौं?
कुन अध्यारोमा हरायौं?
गुरुआमालाई कुटेर के सन्देश दिदैछौ?
तिमिले सन्तानहरुलाई?
हे शासकहरू,
आमाको आशिर्वाद बिनाको सिंहासन चिरस्थायी हुँदैन ।
गुरुआमाको श्रापले !
तिमीहरू कहिल्यै उभो लाग्ने छैनौ ।
आफ्नो आमालाई हेर्ने साहस छैन भने,
कसरी हेर्छौ तिमीहरू देशलाई?
प्रहरी दमन मुर्दावाद !!
-हृदय पुजारा
शिक्षक,
पञ्चोदय माद्यामिक विद्यालय, धनगढी