सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा उठान हुने पश्चिम सेती परियोजना अहिलेसम्म आश्वासनमै बितेको छ ।
नारामा धेरै बढीको जिब्रोबाट बोलिने पश्चिम सेती कहिले बन्छ कुनै टुङ्गो छैन । परियोजनाको २८ वर्ष बितिसक्दा पनि निर्माणको काम भने अगाडि बढेको छैन ।
यस क्षेत्रका बासिन्दा तीन दशक पहिलादेखि चर्चामा रहेको पश्चिम सेती परियोजनाको आशमा छन् । पश्चिम सेती परियोजनाको निर्माण स्थलका बासिन्दाले दशकौँपहिला परियोजना लागू हुने सुनेका मात्रै थिएनन्, केही कम्पनीले स्थलगत प्रतिवेदनसमेत तयार पारेको उनीहरू सुनाउँछन् ।
पश्चिम सेती परियोजना सुरु हुने हल्लाले अन्य विकासबाट बञ्चित बन्नु परेको स्थानीयवासीको दुःखेसो छ । ‘पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुबान हुने भन्दै सरकारको लगानी रोकिएको छ’, स्थानीयवासी डम्बरबहादुर सिंह भन्छन्–‘न पश्चिम सेती सुरु हुन्छ, न त यस क्षेत्रको अन्य विकास निर्माण कार्य नै ।’
उनले परियोजनाको हल्लाले बाटो, खानेपानी, सिँचाइ, शिक्षा जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेको बताए ।

i1.wp.com
दशकौँ पहिलेदेखि विभिन्न विदेशी कम्पनीसँग सम्झौता भई केही काम सुरु भएको स्थानीय सरिता चन्दले बताइन् । डडेल्धुराको बेलापुर र बैतडीको ढुङ्गाडका बस्ती र सेती परियोजना लागू हुने स्थान तथा बाँध बाँधिने ठाउँमा विभिन्न काम भएको उनको भनाइ थियो ।
तीन दशकदेखि चर्चाको विषय बन्दै गइरहेको पश्चिम सेती आयोजना स्थलको पटक पटक भौगर्भिक अध्ययन भए पनि सार्थक रूपमा काम हुन सकेको छैन ।
कतिपय सरकारमा बस्ने नेतृत्वले यस परियोजनाको नाममा भोटसमेत मागे, पटक पटक आश्वासन दिए तर परियोजना लागू हुने अवस्था भने ३० वर्ष पहिलाको जस्तै छ ।
पश्चिम सेती परियोजनाको पलाएको आशा मरिसकेको प्रभावित क्षेत्रका सर्वसाधारणको बुझाइ छ । न परियोजना लागू भयो न त पश्चिम सेती किनार छेउमा ग्रामीण बस्तीमा विकास नै हुन सक्यो ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ र ५, बैतडीको सिगास गाउँपालिका, डोटीका आदर्श गाउँपालिका र बझाङका केही गाउँमा विकास हुन नसकेको शारदा माध्यमिक विद्यालय ढुङ्गाडका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए ।
उनले भने–‘जनप्रतिनिधि आएपछि सडक, बत्ती, बाटोघाटो, विद्यालय भवन, खानेपानी जस्ता विकास निर्माणका काम हुन्छन् कि भन्ने लागेको थियो तर हाम्रा अन्य सपना पनि पश्चिम सेती परियोजनाजस्तै भयो ।’
पञ्चायत कालदेखि नै चर्चामा रहेको परियोजना वर्तमानमा समेत पूरा हुन नसकेको नवदुर्गा गाउँपालिका डडेल्धुराका अध्यक्ष कविन्द्र विष्टले बताए ।
यो परियोजना सञ्चालनका लागि केन्द्र सरकारबाट बजेट छुट्याउन आग्रह गरिएको र परियोजना लागू गर्न स्थानीय स्तरबाटै पहल गरिएको अध्यक्ष विष्टले उल्लेख गरे ।
उनले भने–‘नवदुर्गा गाउँपालिकाको पहलमा परियोजनाको बाँधस्थल पुगेर गत वर्ष नै सरोकारवालासँग छलफल चलाइसकेका छौं ।’
सरकारले विभिन्न सम्झौताका नाममा स्थानीयवासीलाई धोका दिएकाले अब स्थानीय स्तरबाटै पहल गरी पश्चिम सेती परियोजनाको ढोका खोल्ने सरोकारवाला जनप्रतिनिधिको भनाइ छ ।
हामी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको भन्दै नवदुर्गा–४ का अध्यक्ष पदम विष्टले सेती परियोजना लागू गरी सुदूरपश्चिम प्रदेशकै विकासलाई आगाडि बढाउनुपर्ने बताए ।
परियोजना लागू हुने नाममा स्थानीय ढुङ्गाड, तलार, आदर्शनगर, थलरा लगायतका दर्जनौँ गाउँ अहिलेसम्म पनि अन्धकारमा छन् ।
अन्य विकासबाट समेत वञ्चित रहनु परेको आदर्श गाउँपालिकाका बासिन्दा टेकबहादुर सिंहले बताए । उनले भने–‘धेरै दुःख खेप्यौँ, विकासबाट वञ्चित बन्याँै । स्थानीय जनप्रतिनिधिले भने केही आशा जगाएका छन् ।’
‘बाजेको पालामै यस ठाउँमा बाँध बाँधिन्छ, सर्नुपर्छ भन्ने सुनेको सुनिएको हो । अहिलेसम्म चर्चा मात्रै सुनिन्छ बन्न सकेको छैन । ढुङ्गामाटोको काम गरे पनि रोजगारी पाइन्थ्यो । विस्थापित घरपरिवारले राम्रै स्थानमा जमिन पाउँथे । यो ठाउँ र प्रदेशमै विकासले गति लिन्थ्यो तर लागू हुन सकेन’, स्थानीयवासी भन्छन् ।
एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र चीनको थ्री गर्जेज इन्टरनेसनल कम्पनीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना संयुक्त लगानीमा बनाउने सम्झौता गरेपछि यस क्षेत्रका जनतामा आशा जागेको थियो ।
लगानी बोर्डले स्वीकृति दिएको सम्झौतामा हस्ताक्षर भएपछि यस क्षेत्रमा काम हुने आशा पलाए पनि पुनः निराशामै बाँच्नु परिरहेको छ ।
परियोजना निर्माण गर्न तीन दशकअघि केही काम भएर पछि विश्राम पाएको समयमा सरकारले फेरि अर्कै चाइना कम्पनीसँंग गरेको सम्झौताले स्थानीयवासीलाई उत्साहित बनाए पनि वर्ष दिन नपुग्दै त्यो आशा पनि मरेको स्थानीय नरबहादुर महराले बताए ।
करिब एक खर्ब ६० अर्ब रुपैयाँ लागतको बहुउद्देश्यीय आयोजनाबाट सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोलिने भएकाले पनि यसलाई विभिन्न राजनीतिक दलले वर्षौंदेखि प्रतिष्ठाको विषय बनाएका छन् ।
पश्चिम सेती परियोजनाका लागि पटक पटक विभिन्न देशका निर्माण कम्पनीसँग सम्झौता गरिन्छ तर परियोजना लागू हुने स्थानमा नपुग्दै सेलाउने गर्छ । गत वर्ष मात्रै चिनियाँ कम्पनीसँग सम्झौता भएको सरकारले सार्वजनिक गरेको थियो तर सपना अधुरो रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले बताए ।
पश्चिम सेती जलविद्युत् परियोजनाका कारण सुदूरपश्चिम प्रदेशमा ठूला विकास निर्माणका कामहरू हुन सकेका छैनन् । बाँध बाँधिने स्थल वरिपरिका दर्जनौँ गाउँ विकास निर्माणबाट वञ्चित हुनु परेको छ ।