धनगढी, फागुन १७- सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्ला रहेका छन् । ती जिल्लाहरुका आफ्नै भाष वोलीचाली र खानपिन रहेका छन् । तर सवै जिल्लाहरुमा पाईने परिकार एकै पटक खाने ईच्छा पुरा गर्न मुस्किल पर्छ होला तर खाने मुखलाई जुँगाले छेक्दैन भने झैं सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरुमा खाईने परिकार धनगढीमै खान सकिन्छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ खुल्लामञ्चमा जारी प्रथम सुदुरपश्चिम खाना महोत्सवले सवै जिल्लाका परिकार खाने प्रवन्ध मिलाई दिएको हो । सुदूरपश्चिम प्रदेशको बाजुरा विकट जिल्लाको रुपमा परिचित छ । बाजुराका विभिन्न क्षेत्र पटक–पटक भोकमरीसंग जुधेका पनि छन । तर बाजुरमा पाईने पराम्परागत खानाको परिकार बारे भने प्रचार–प्रसार भएको छैन् । बाजुरमा जिल्लामा काकूनु, तिल, मकै, जौँ लगायतका खाद्य बालीहरु हुन्छन् । ती उपजबाट मौलिक खानाका परिकारहरु पनि उत्पादन गर्न सकिन्छ । तर त्यो भएको छैन् । मौलिक खानाका परिकारहरु चाँड पर्वमा बनाईने भएपनि व्यवसायीकता दिने प्रयास भएको छैन् । मकैको भौला, मार्सी चिनो, आटो, कोदो वासमति सिमी कागुन लगायतका खाद्यान्नबाट बनेका परिकारहरु महोत्सवमा खुवाईरहेको स्टल सञ्चालक कविराज थापाले बताउनुभयो ।
बाजुरमा मात्र होईन अन्य जिल्लामा पनि फरक–फरक खानाका परिकारहरु पाईन्छन ्। अछाम जिल्लामा सिस्नु र मकैका परिकार, पीना, कोदाको रोटीलाई मौलिक परिकारका रुपमा हेरिन्छ । आछाममा बुच्चाने रोटी तथा मोटो रोटी पनि चाँड पर्वमा खान पाईन्छ । ती सवै परिकारहरु खाना महोत्सवमा खुवाईरहेको स्टल सञ्चालिका धना कुँवरले बताउनुभयो । डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ तथा कैलाली र कञ्चनपुर जिल्लामा पनि समुदाय अनुसार फरक फरक पराम्परागत खानाका परिकार छन् । ति परिकारको स्वाद पनि फरक–फरक छ । वैतडीको प्रख्यात घोघा छाँच, मास मिक्स, माडा, दुध गुड लगायतका परिकार ग्राहकहरुले मन पराईरहेको वैतडीका खानाको परिकारको स्टल राख्नुभएकी मीना जोशीले बताउनुभयो । डोटीका डुप्काभात पनि धेरैले खाईरहेका छन् । मालप्वा, फाउने माडा, चामलका सेल वटुक फाडो लगायतका परिकारहरु बनाईरहेको डोटीका परिकारहरुको स्टल राख्नुभएकी पार्वती जोशीले बताउनुभयो ।
धनगढीमा एक सातासम्म सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाका विशेष परिकार मार्फत पाहुनालाई स्वागत गरिदैं छ । होटल व्यवसायी संघ कैलालीले आयोजना गरेको प्रथम सुदुरपश्चिम खाना महोत्सव मार्फत पाहुनाहरुलाई यस प्रदेशका सवै जिल्लाका खानाका स्वाद लिने व्यवस्था गरिएको छ । बझाङका सेतीका ताजा माछा, ठेकीको छाँच, माछाको सुकुटी लगायतका धेरै परिकारहरु पनि खाना महोत्सवमा सहजै खान पाईन्छ । ती सवै परिकारहरुलाई ग्राहकले आनन्द मानेर खाईरहेको वझाङका परिकार राख्नुभएका खप्तड खाजाघरका सञ्चालक किशोर खड्काले बताउनुभयो ।
डडेल्धुराको निसोसे, वटुक वावर छट्नी लगायतका परिकारहरुलाई स्वादिष्ट मानेर खाईरहेको स्टल सञ्चालिका मीना भण्ण्डारीले जानकारी दिनुभयो । दार्चुलाको परिकारमा मकैको रोटी भुटेको छाई, फापरका विभिन्न परिकार, कोदोको रोटी पनि खाना महोत्सवमा खुवाईदैछ । स्टलमा दार्चसलाका परिकारहरु पकाईरहेको स्टल सञ्चालिका पार्वती वडुले बताउनुभयो । पहाडी ७ जिल्लमा पनि जिल्ला अनुसारको खानाका परिकार फरक–फरक छन् । ती परिकारको बजारीकण गर्न सके पर्यटकको मन जित्न सकिने विश्वास गरिएको छ । तर सुदूरपश्चिम प्रदेशका पराम्परागत खानाका परिकारको प्रवद्र्धनमा भने चुनौती रहेको छ । सुदूरपश्चिम प्रदेशका मौलिक खानाका परिकारलाई नयाँ पिडिले पनि स्वीकार्न नसकेको गुनासो होटल व्यवसायीहरुको छ । यद्यपी उनीहरुले मौलिक खानाका परिकाहरुमा पौष्टिक तत्व पनि बढी हुने भएकाले बजारीकरण गर्ने धनगढीमा खाना महोत्सवको आयोजना गरेको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बलमे जानकारी दिनुभयो ।
महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका छन् । प्रायः सवै समुदायका परिकार र प्रदेशका नौ वटै जिल्लाका मौलिक खानाका परिकारहरुको स्वाद लिनका लागि जिल्लागत र समुदायगत रुपमा पनि खाना महोत्सवमा स्टलहरु राखिएका छन् । सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई उनीहरुकै भेषभुषा, संस्कार र संस्कृति झल्किने गरी खुवाईहेको होटेल व्यवसायी संघ कैलालीका सचिव आभेष चन्दले जानकारी दिनुभयो ।
फागुन २० गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन भने विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएछन । खाना महोत्सवमा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरु र विभिन्न जातजातिका खानाका परम्परागत परिकारहरुको स्वाद लिने र भेषभुषा, संस्कार र संस्किृतीको अवलोकन गर्न मिल्ने साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको मनोरञ्जन पनि एकैसाथ लिन सक्ने व्यवस्था मिलाईएको छ । धनगढीमा भईरहेको पहिलो सुदुरपश्चिम खाना महोत्सवको मुख्य प्रयोजक जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज रहेको छ । त्यसैगरी प्रायोजकको रुपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटल जलसा प्रा.लि., होटल सनलाईट प्रा.लि., आफ्नो घर टेम्पल रिसोर्ट प्रा.लि. रहेका छन् ।