महेन्द्रनगर १० माघ/कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ स्थित चाँदनी डान्सबारमा पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, ती चार जना भारतीय नागरिकहरूले डान्सबार भित्र एकाएक नेपाली नागरिकमाथि पेस्तोल तानेका थिए। सो घटनापछि प्रहरीलाई जानकारी भएकोमा प्रहरीले उनीहरूलाई समातेको हो।
कञ्चनपुर प्रहरीका प्रवक्ता उमेश जोशीका अनुसार, पक्राउ परेका भारतीय नागरिकहरूको साथबाट यु।के ६ ए।आर ८४६ नम्बरको गाडी र पेस्तोलसमेत बरामद गरिएको हो। पक्राउ पर्नेमा प्रेमनगर, खटिमाका संजय जेठी ३१ वर्ष, जीवन सिंह ३४ वर्ष, कोमल विष्ट ३१ वर्ष र उमेद सिंह अधिकारी ३४ वर्ष रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई मदिरा सेवन गरेको अवस्थामा पक्राउ गरिएको हो। यस घटनाले स्थानीय सुरक्षा स्थितिमा चुनौतीको विषय प्रष्ट पारेको छ।
