धनगढी, २८ असोज / धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका ९ को वडा कार्यालय नजिक ४६औँ हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ स्थित वडा कार्यालय नजिक जडान गरिएको हाइमास लाइटको वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले उद्घाटन गरेका हुन्। उपमहानगरपालिकाका अनुसार ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत नगरका विभिन्न स्थानमा हाइमास लाइट जडान गर्ने कार्यलाई निरन्तरता दिइएको छ।
सोही अभियानअन्तर्गत वडा नम्बर ०९ वडा कार्यालय नजिक पनि हाइमास लाइट जडान गरिएको हो। व्यस्त तथा सार्वजनिक आवागमनको महत्वपूर्ण क्षेत्र र धार्मिक क्रियाकलाप हुने भएकाले यहाँ हाइमास लाइट सञ्चालनमा आएपछि रातिको समयमा हुने आवागमन तथा सार्वजनिक गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ। उपमहानगरपालिकाले नगरका विभिन्न क्षेत्रलाई थप उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित ‘उज्यालो धनगढी’ कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।