धनगढी, १६ असोज / निसर्ग इन्डो–नेपाल जुगेडा कप–२०८३ असोज २० गतेदेखि धनगढी उपमहानगरपालिका–१० जुगेडामा आयोजना हुने भएको छ। संयुक्त राना जनचेतना परिवारको आयोजनामा हुने प्रतियोगिताबारे मुख्य संयोजक सुरज रानाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। खेलाडीको व्यवसायीकरण, खेल पर्यटनको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको रानाले बताए।
असोज २० देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। नेपाल तथा भारतका विभिन्न राष्ट्रिय तथा अनुभवी खेलाडीहरूको सहभागिता रहने भएकाले प्रतियोगिता प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई प्रोत्साहनस्वरूप २०-२० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
मुख्य संयोजक रानाका अनुसार जुगेडा कप केवल भलिबल प्रतियोगिता मात्र नभई ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाको खोजी, स्थानीय खेलाडीलाई अवसर र पहिचान दिने अभियानसमेत हो। शहर केन्द्रित खेल गतिविधिका बीच ग्रामीण क्षेत्रमा रहेका प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको उनले बताए।
प्रतियोगितामार्फत स्थानीय कलाकार तथा अन्य प्रतिभालाई समेत प्रस्तुति दिने अवसर सिर्जना गरिनेछ। खेलसँगै मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा स्थानीय कला–संस्कृतिको प्रस्तुतिले प्रतियोगितालाई थप आकर्षक बनाउने आयोजकको भनाइ छ।
जुगेडा कपले रानाथारू कला, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुर्याउने आयोजकले जनाएको छ। खेलकुदसँग संस्कृतिलाई जोड्दै जुगेडा क्षेत्रलाई खेल तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
सीमावर्ती क्षेत्रमा आयोजना हुने प्रतियोगिताले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, भाइचारा तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। नेपाल र भारतका खेलाडी एउटै मैदानमा प्रतिस्पर्धा गर्ने अवसरले दुई देशका खेलाडीबीच आपसी सम्बन्ध र खेल भावना विकास गर्न सहयोग पुग्ने रानाले बताए।
प्रतियोगिताले स्थानीय व्यापार, होटल तथा पर्यटन व्यवसायसँगै समग्र क्षेत्रको आर्थिक गतिविधिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। ग्रामीण क्षेत्रमा रहेका खेल प्रतिभाको सम्भावना खोजी स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने र जुगेडालाई खेल तथा सांस्कृतिक पर्यटनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको आयोजकले जनाएको छ।
मुख्य संयोजक रानाले ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका यस्ता प्रतियोगितालाई आवश्यक प्रवर्द्धन, सहयोग र सहकार्य गर्न सुदूरपश्चिम प्रदेश सरकार तथा नेपाल सरकारसँग आग्रह गरेका छन्। उनका अनुसार यस्ता प्रतियोगिताले खेलाडी उत्पादनसँगै ग्रामीण क्षेत्रका सम्भावना उजागर गर्ने, युवालाई सकारात्मक दिशामा अघि बढाउने, स्थानीय संस्कृति संरक्षण गर्ने र खेल पर्यटनको आधार निर्माण गर्ने काम गर्छन्।
प्रतियोगिताको टाइटल स्पोन्सर निसर्ग हस्पिटल रहेको छ भने मुख्य प्रायोजक केयर टेकर हस्पिटल रहेको छ। धनगढी उपमहानगरपालिका–१० नम्बर वडा कार्यालय प्रतियोगिताको मुख्य प्रवर्द्धक रहेको आयोजकले जनाएको छ। प्रतियोगितालाई निष्पक्ष, मर्यादित, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजक समिति प्रतिबद्ध रहेको रानाले बताए।