धनगढी, १७ भाद्ररसुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमनबहादुर भण्डारीको सचिवालयले विभिन्न विकास योजना पारिदिने भन्दै स्थानीयवासीबाट रकम उठाएको आरोपको खण्डन गरेको छ।
मन्त्रीको सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालय तथा मन्त्री सचिवालयका कर्मचारीले विभिन्न व्यक्तिसँग आर्थिक लेनदेन गरेको भन्दै सामाजिक सञ्जालमा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।सचिवालयका प्रमुख स्वकीय सचिव ईश्वरबहादुर द्वालले जारी गरेको विज्ञप्तिमा मन्त्रालय तथा सचिवालयका कुनै पनि कर्मचारी गैरकानुनी तथा अनैतिक आर्थिक लेनदेनका गतिविधिमा संलग्न नरहेको स्पष्ट पारिएको छ।
यसअघि नेकपा एमालेका कार्यकर्ता बझाङका रहेका मोहन बोहरा लगायतले सामाजिक सञ्जालमार्फत मन्त्री भण्डारीको सचिवालयले योजना पारिदिने भन्दै स्थानीयवासीबाट रकम उठाएको आरोप लगाएका थिए । उनले लगातार सामाजिक सञ्जाल पोस्टमार्फत रकम फिर्ता गर्न आग्रह गर्दै रकम फिर्ता नभए रकम दिने र लिने व्यक्तिको नाम सार्वजनिक गर्ने चेतावनी दिएका थिए।
मन्त्री भण्डारीमाथि कृषि तथा पशुपन्छी क्षेत्रको बजेट निजी फर्ममा केन्द्रित हुने गरी कार्यविधि परिवर्तन गरेको र विकास योजनाका नाममा स्थानीयस्तरबाट रकम असुल्ने गरेको आरोपसमेत सार्वजनिक भएको थियो।
तर, मन्त्री भण्डारीले भने आफू वा आफ्नो सचिवालयबाट योजना पारिदिने भन्दै कसैसँग रकम नउठाइएको स्पष्ट पारेका छन् । उनले सचिवालयका कुनै व्यक्तिले त्यस्तो कार्य गरेको प्रमाणित भए कारबाही गर्ने बताएका छन् ।
सचिवालयले सामाजिक सञ्जालमा आएका आरोपलाई भ्रामक, तथ्यहीन र कपोलकल्पित भन्दै आम नागरिक, सञ्चारकर्मी तथा सरोकारवालालाई आधारहीन प्रचारको पछि नलाग्न आग्रह गरेको छ।
विज्ञप्तिमा सचिवालय सुशासन, पारदर्शिता र शून्य सहनशीलताको नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्रालयको छविमा आँच पुर्याउने नियतले गरिने गलत प्रचारप्रति सजग रहनसमेत अपिल गरिएको छ।
