धनगढी १० भाद्र/ पछिल्लो समय बैंक, डिजिटल वालेट तथा विभिन्न वित्तीय संस्थाका कर्मचारी बनेर फोन, ह्वाट्सएपलगायत डिजिटल माध्यमबाट ठगी गर्ने घटना बढ्दै गएपछि कैलाली उद्योग वाणिज्य संघले व्यवसायी तथा आम नागरिकलाई साइबर ठगीबाट सचेत रहन अपिल गरेको छ।
संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बैंक खाता, डिजिटल वालेट र व्यक्तिगत तथा वित्तीय विवरण दुरुपयोग हुन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको हो। कैलाली उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष केशव राज जोशीद्वारा जारी विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो।
संघका अनुसार बैंक, ई-सेवा, खल्ती वा अन्य वित्तीय संस्थाका कर्मचारी भएको परिचय दिएर फोन वा अनलाइन माध्यमबाट OTP, PIN, Password, MPIN, बैंक खातासम्बन्धी गोप्य विवरण माग्ने गतिविधिप्रति सचेत हुनुपर्नेछ। यस्ता व्यक्तिलाई मोबाइलको Screen Share वा Remote Access उपलब्ध नगराउन पनि संघले आग्रह गरेको छ।
त्यसैगरी KYC, NID वा बैंक खाता अपडेट गर्नुपर्ने भन्दै फोन वा ह्वाट्सएपमा आएको सूचनामाथि तत्काल विश्वास नगरी सम्बन्धित बैंक वा वित्तीय संस्थाको आधिकारिक नम्बर, मोबाइल एप वा कार्यालयमार्फत सम्पर्क गरी सूचना यकिन गर्न संघले अनुरोध गरेको छ।
संघले विशेषगरी अनजान लिंकमा क्लिक नगर्न, शंकास्पद फोन तथा सन्देशको जवाफ नदिन, OTP कसैलाई नदिन र PIN, MPIN तथा Password कसैलाई पनि नबताउन आग्रह गरेको छ। शंकास्पद फोन वा सन्देश आएमा तत्काल फोन काटेर कुनै प्रतिक्रिया नदिन पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै परिवारका सदस्य, कर्मचारी तथा ग्राहकलाई समेत सम्भावित साइबर ठगीका जोखिमबारे सचेत गराउन संघले व्यवसायीहरूलाई आग्रह गरेको छ। “सचेत नागरिक, सुरक्षित व्यवसाय” भन्ने मूल भावनाका साथ संघले सुरक्षित डिजिटल कारोबार तथा साइबर सुरक्षाका लागि सबै उद्योगी, व्यवसायी र आम नागरिकलाई आ–आफ्नो स्तरबाट आवश्यक सावधानी अपनाउन अपिल गरेको छ।