धनगढी, १० भदौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता कमल थापाले दुर्गाथली गाउँपालिकाको अध्यक्ष पदका लागि रास्वपा क्यान्डिडेट क्लबमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।
बझाङमा पछिल्लो पुस्ताका उदाउँदा युवा नेताका रूपमा परिचित थापा करिब चार वर्षअघि बझाङ द्विप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएका थिए। तत्कालीन सत्तारूढ दलहरू एमाले, कांग्रेस, माओवादी र समाजवादी निकट विद्यार्थी संगठनहरूको गठबन्धनलाई पराजित गर्दै निर्वाचित भएका थापाले विद्यार्थी नेतृत्वमा रहँदा ‘पढ्दै कमाउँदै’ कार्यक्रम, सीपमूलक कार्यक्रम, छात्रावास, छात्रवृत्ति तथा स्वास्थ्य उपचारमा छुटलगायतका पहल गरेको बताइन्छ।
थापाले बझाङमा भ्रष्टाचार, बेथिति, अन्याय तथा जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। स्थानीय सडक निर्माणमा ठेकेदारबाट भएको भनिएको लापरबाहीको समेत विरोध गर्दै उनले सम्बन्धित निकायलाई खबरदारी गरेका थिए। सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा आवाज उठाउने क्रममा आफूले पटक–पटक जेल हिरासत बस्नु परेको थापाको दाबी छ।
त्यस्तै, लघुवित्त तथा ऋणसम्बन्धी समस्यामा परेका नागरिकको पक्षमा आवाज उठाउने, यातायातको मनोमानी भाडाविरुद्ध अभियान सञ्चालन गर्ने तथा उपचारका लागि जिल्ला बाहिर जाने विपन्न नागरिकलाई औषधिमा छुट र सहजीकरणका लागि पहल गर्ने काममा पनि उनी सक्रिय रहेको बताइन्छ। विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन पहल गर्नुका साथै विभिन्न विद्यार्थीलाई निःशुल्क अध्ययनको वातावरण निर्माण गर्न समन्वय गरेको उनको सामाजिक गतिविधिको चर्चा हुँदै आएको छ।
पछिल्लो समय थापा सामाजिक अभियान तथा युवा गतिविधिमा पनि सक्रिय देखिएका छन्। धनगढीमा भएको जेन्जी आन्दोलनमा अग्रमोर्चामा सहभागी हुँदै भ्रष्टाचार र बेथितिविरुद्ध युवाहरू एकजुट हुनुपर्ने धारणा उनले सामाजिक सञ्जालमार्फत राख्दै आएका थिए। आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद सुबास बोहराको परिवारलाई सहयोग गर्न नागरिकसँग अपिल गर्दै सहयोग जुटाउने अभियानमा समेत उनी सहभागी भएका थिए।
सामाजिक अभियानकै क्रममा उनले मुगु र हुम्लाका बालबालिकाका लागि लत्ताकपडा सहयोग गर्ने अभियानमा समेत सहभागिता जनाएका थिए। त्यस्तै, सिंहदरबारसम्म पुगेर बझाङका विद्युत्, सञ्चार, बेरोजगारी तथा विदेशमा समस्यामा परेका बझाङका युवाको उद्धारलगायतका विषय सम्बन्धित मन्त्रालय तथा मन्त्रीसमक्ष पुर्याउन पहल गरेको उनको भनाइ छ।
युवा तथा जनसमुदायको सुझाव र स्थानीय आवश्यकतालाई आधार बनाउँदै जेन्जी आन्दोलनका माग सम्बोधन गर्ने उद्देश्यसहित केही महिनाअघि रास्वपामा प्रवेश गरेका थापा अहिले दुर्गाथलीमा संगठन विस्तार तथा जनसम्पर्कमा सक्रिय छन्।
उनकै नेतृत्वमा ‘स्वस्थ विद्यार्थी, स्वच्छ वातावरण’ अभियानअन्तर्गत दुर्गाथली गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको छ। साथै वडा–वडामा जनभेटघाट, जनसभा तथा छलफल गर्दै स्थानीयका गुनासा प्रत्यक्ष सुन्ने र टिपोट गर्ने काम भइरहेको बताइएको छ। स्थानीय सरकारका कामकारबाहीमा खबरदारी गर्दै आएका थापाले असहाय, टुहुरा तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरणलगायत विभिन्न रचनात्मक सामाजिक अभियानसमेत सञ्चालन गरिरहेका छन्।
करिब १० वर्षदेखि सामाजिक तथा विद्यार्थी राजनीतिमा सक्रिय रहेका थापा अब पहिलोपटक निर्वाचनको मैदानमा होमिन पार्टीको निर्णय तथा स्थानीय युवाहरू, जनसमुदाय र बौद्धिक व्यक्तित्वहरूको सुझावअनुसार रास्वपा क्यान्डिडेट क्लबमा दुर्गाथली गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेको बताउँछन्।
दुर्गाथलीको स्थानीय आवश्यकता, सम्भावना र विशेषतालाई केन्द्रमा राख्दै जनमुखी तथा युवामैत्री योजना निर्माण गरी गाउँपालिकालाई आत्मनिर्भर र समृद्ध बनाउने आफ्नो लक्ष्य रहेको थापाले बताएका छन्।