धनगढी १७ साउन/कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने ५२ वर्षीय जालिना देवी चौधरी मृत्यु घटनामा पक्राउ परेकाहरु धरौटीमा छुटेका छन् । मृतकका छोरा राजेन्द्र चौधरीले आमाको हत्या गरेको आरोपमा दिएको कर्तव्य ज्यान सम्बन्धी कसुरमा प्रहरीले सरिता थरुनीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
सरिताका छोराछोरी समेतका उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । इप्रका मालाखेतीकाअनुसार जिल्ला अदालतले उनीहरुलाई एक लाख ६० हजार धरौटीमा छाड्न आदेश दिएपछि छाडिएको हो । प्रहरीकाअनुसार मृतकको शव परीक्षण रिर्पोटमा मृत्युुको कारण खुल्न सकेको छैन् भने भीसेरा परीक्षणका लागि नेपालगञ्ज पठाइएको छ । मृतक महिलाका आफन्तले भने सरिता थरुनीसहित उनका छोराछोरीले कुटपिट गरेपछि मृत्यु भएको आरोप लगाएका छन् ।
मानसिक स्वास्थ्य ठीक नभएकी जालिनादेवी चौधरीले ३२ असारको साँझ हत्या आरोपी सरिताको घर अगाडि गएर चामल फालेकी थिइन् । उनीहरुले आफ्नो कुभलो चित्ताउने उद्देश्य राखेर घर अगाडि चामल फालिएको भन्दै कुटपिट गरेको आरोप मृतक पक्षले लगाएको छ । भीसेरा रिर्पोट प्राप्त भएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।