धनगढी, २८ जेठ / धनगढीमा जारी सन्ध्याकालीन धनगढी उत्सव-२०८३ दर्शकहरूको उत्साहजनक सहभागितासँगै थप आकर्षक बन्दै गएको छ। उत्सवको आठौँ दिनसम्म आइपुग्दा उत्सवस्थलमा दैनिक रूपमा दर्शकहरूको भरिभराउ देखिन थालेको छ भने विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले उत्सवको रौनक झन् बढाएको छ।
स्थानीय कला, संस्कृति तथा सिर्जनशील प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रभात इभेन्ट एण्ड मिडिया प्रालिको आयोजनामा सञ्चालन भइरहेको उत्सवले धनगढीसहित आसपासका क्षेत्रका दर्शकहरूको ध्यान आकर्षित गरिरहेको छ। हरेक साँझ आयोजना हुने सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिमा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने गरेको छ।
उत्सवस्थलमा स्थानीय कलाकारहरूको गीत, संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको छ। स्थानीय प्रतिभाहरूको प्रस्तुतिमा दर्शकहरू रमाइरहेका छन् भने उत्सवले कला र संस्कृतिप्रति आकर्षण बढाउन समेत महत्वपूर्ण भूमिका खेलिरहेको छ।
धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि राष्ट्र बैंक चोकसम्म सञ्चालन भइरहेको उत्सवमा करिब ३० वटा विभिन्न स्टल, मनोरञ्जनात्मक मेला तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिएका छन्। व्यापारिक तथा प्रदर्शनी स्टलहरूमा पनि दर्शकहरूको उल्लेखनीय चहलपहल देखिएको छ।
आयोजक प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले दिनप्रतिदिन बढ्दो दर्शक सहभागिताले उत्सवलाई थप उत्साहपूर्ण बनाएको बताए। स्थानीय कला, संस्कृति र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको उत्सवप्रति सर्वसाधारणको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनको भनाइ छ।
उत्सवका संयोजक तथा कार्यक्रम सञ्चालक गुणाकर पनेरुले सन्ध्याकालीन धनगढी उत्सवले स्थानीय भाषा, कला, संस्कृति तथा सिर्जनशील प्रतिभाको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले उत्सवमा सहभागी भई स्थानीय कलाकार र संस्कृतिलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासी तथा दर्शकलाई आग्रह समेत गरे।
गर्मीयामलाई मध्यनजर गर्दै दैनिक साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन भइरहेको उत्सव असार ११ गतेसम्म जारी रहने आयोजकले जनाएको छ। उत्सव सञ्चालनमा कार्यक्रम सञ्चालक रेखा धानुकको समेत सक्रिय भूमिका रहेको छ।
धनगढी उत्सव-२०८३ व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी रुक्मणी क्यान्ट हाउसले लिएको टेन्ट हाउसका सञ्चालक सुरेश शाहले बताएका छन्।
