धनगढी, २३ चैत / दार्चुलामा पुल निर्माणका लागि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सुदूरपश्चिम पुगेका छन् । उनी सोमबार बिहान दार्चुलामा पुल निर्माणका लागि धनगढी पुगेर दार्चुलाका लागि हिँडेका छन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सबैलाई पुल निर्माणका लागि श्रमदान गर्न आह्वान गरेका छन् । नेपाली भूभाग भित्र रहेको पुल निर्माण गर्न लागिएको बताउँदै उनले जति सक्दो छिटो पुल निर्माण गरिने बताए ।
उनले आफ्नो श्रमदान अभियानमा लाखौँ मानिस जुटेको बताउँदै दार्चुलामा सामान किनेर श्रमदान गरेर पुल निर्माण गरिने बताए । उनले दार्चुलामा पुल निर्माण गर्ने काम कुनै राजनीतिक उद्देश्य प्राप्तिका लागि नभएको बताउँदै सुदूरपश्चिममा हाल सम्म श्रमदानको काम नगरेकाले यहाँ पनि सुरु गर्न लागिएको बताए ।
यसअघि उनले सोमबार बिहान काठमाण्डौंबाटै आफू दार्चुलामा श्रमदानका लागि हिँडेको भन्दै श्रमदान गर्न आह्वान गरेका थिए । उनले लेखेका थिए ‘ म त लागेँ है दार्चुला १ आउनु है श्रमदान गरेर पुल बनाउन १ विदेशी ऋण सिन लिइँदैन आफू त १ म त लागेँ १’
प्रतिनिधि सभा सदस्य समेत रहेका हर्क साम्पाङले यसअघि आफू निर्वाचित भए लगतै दार्चुलामा पुल बनाउने घोषणा गरेका थिए । सोही अनुसार उनले यसअघि नै सो क्षेत्रमा प्राविधिक टोली समेत पठाइसकेका छन् ।