धनगढी, ९ मंसिर/निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) धनगढीद्वारा आयोजित ‘सिसिएस प्लस टु–प्याब्सन धनगढी क्रिकेट कप २०८२’ बुधबारदेखि सुरु हुने भएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगितासम्बन्धी सबै विवरण सार्वजनिक गर्दै आयोजकले आवश्यक तयारी पूरा भइसकेको जानकारी दिएको हो।प्याब्सन धनगढीका अध्यक्ष धुब्रसिंहका अनुसार प्रतियोगिता धनगढी–३ स्थित फाप्ला क्रिकेट मैदानमा भोली बुधबार बिहान ११ बजेबाट सुरु हुनेछ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि क्रिकेटलाई प्राथमिकतामा राख्दै आयोजन गरिँदै आएको प्रतियोगितामा मुख्य प्रायोजक सिसिएस स्कुल र सह–प्रायोजक चैतन्य पाठशाला रहेका छन्।यस वर्षको प्रतियोगितामा विभिन्न विद्यालय तथा प्याब्सनका गरी २४ वटा टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेता टिमले ५१,१११ रुपैयाँ र उपविजेताले २५,१११ रुपैयाँ पुरस्कार पाउनेछन्।
त्यस्तै ‘म्यान अफ द म्याच’लाई २५ हजार रुपैयाँ, उत्कृष्ट खेलाडी,‘बेस्ट बलर’ र ‘बेस्ट ब्याट्सम्यान’लाई जनही ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।प्याब्सन धनगढीले प्रतियोगिताले विद्यार्थीहरूको खेलकुद प्रतिभा उजागर गर्नुका साथै अनुशासन, सहकार्य र टोली भावना विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।