धनगढी, १ मंसिर / शहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुट्सल प्रतियोगिता यही मंसिर १० गतेबाट धनगढीमा हुने भएको छ। स्टार सिटी युथ क्लबको आयोजनामा, धनगढी उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयको प्रबर्धनमा र निसर्ग हस्पिटलको प्रायोजकत्वमा उक्त प्रतियोगिताको आयोजना गरिएको स्टार सिटी युथ क्लबका अध्यक्ष नरेन्द्र शाहले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
शहिद गौरव जोशी धनगढीको मात्रै नभएको र सारा नेपालीहरूको इतिहास भएकाले धहिद जोशीलाई सम्मान र स्मरण गर्नको लागि स्टार सिटी युथ क्लबले यो वर्षदेखि सुरु गरेर हरेक वर्ष उनको सम्झनामा फुट्सल प्रतियोगिता गर्ने आयोजकले जानकारी दिए।
फुट्सल प्रतियोगिता धनगढी उपमहानगरपालिका भित्रका लागि मात्रै रहेको छ। उक्त प्रतियोगिता यस पटक वडा स्तरीय हुनेछ।
प्रतियोगिताका विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद प्रदान गरिने समेत आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए। टिम दर्ता शुल्क ५ हजार ५ सय तोकिएको छ।
पत्रकार सम्मेलन स्टार सिटी युथ क्लबका अध्यक्ष नरेन्द्र शाहको अध्यक्षतामा र शहिद गौरव जोशीका बुवा बासुदेव जोशीको प्रमुख आतित्यतामा गरिएको थियो। उक्त सम्मेलनमा निशर्ग हस्पिटलका प्रमुख तीर्थराज पन्त, वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाही, फुट्सलका राष्ट्रिय खेलाडी, स्वयंसेवी रक्तदाता, पत्रकार दीपक उपाध्याय , पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा लगायत अन्य सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
पत्रकार सम्मेलनमा बोल्दै शहिद गौरव जोशीका बुवा बासुदेव जोशीले मेरो एक्लो छोरो थियो,त्यो पनि राष्ट्रको सपुत भएर गयो, भन्दै भक्कानीए ।