धनगढी । जापानविरुद्ध पाँच विकेटको जित निकालेसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा प्रवेश गरेको छ ।
शुक्रबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर आसिफ सेखले सर्वाधिक ३८ रन बनाए । गुल्सन झाले अविजित २८ रन थप्दा अर्का ओपनर कुशल भुर्तेलले २७ रन जोडे । कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए ।
जापानका सोमा सेल्टरले दुई विकेट लिए । रियो साकुरानो थोमस, सबारिस रविचन्द्रन र डेक्लान सुजुकीले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो ।
जापानका ओपनर तथा कप्तान केन्डेल फ्लेमिङले सर्वाधिक ६० रन बनाए । गुल्सन झाले गरेको १४औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेलबाट क्याच हुनुअघि उनले ४६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।
नेपालका सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए । सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो ।
हारका बाबजुद जापान पनि समूह उपविजेताको रुपमा सुपर–६ मा प्रवेश गरेको छ । विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।
समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।
