धनगढी २९ भाद्र/ जेनजी आन्दोलनको मौका छोपेर कैलाली कारागारबाट भागेका ९२ जना कैदीबन्दी नियन्त्रणमा आएका छन् । कारागार प्रशासनकाअनुसार शनिबार साँझसम्म ९२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर कारागारको बन्दीगृहमा राखिएको छ ।
उनीहरू मध्ये ४८ जना आफैं प्रहरी र कारागार प्रशासनको सम्पर्कमा आएर फर्किएका हुन् भने ४४ जनालाई पक्राउ गरिएको थियोे । उनीहरू मध्ये १३ जना महिला रहेका छन् । कारागारको बन्दीगृहमा फर्काइएका मध्ये लागुऔषध सम्बन्धि मुद्दाका मात्र ३३ जना रहेका छन् ।
२४ गतेको आन्दोलनका क्रममा कैलाली कारागारमा रहेका ६६६ जना कैदीबन्दी भागेका थिए । कारागार प्रशासनले सूचना जारी गर्दै उनीहरूलाई शिघ्र सम्पर्कमा आउन भनेको थियोे । जिल्ला प्रहरी कार्यालय कैलालीले पनि शनिबार सूचना जारी गरेर भागेका कैदीबन्दीलाई तत्काल आत्मसमर्पण गर्न अपिल गरेको छ ।
