धनगढी १४ भाद्र/कञ्चनपुरको बेलडाँडीका १७ वर्षीय सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कञ्चनपुर जिल्ला अदालतले सम्झनाका श्रीमान् पवन भट्टलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ भने सासू ससुरा र दिदीलाई भने धरौटीमा छोड्न आदेश दिएको हो ।
सम्झनाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको बिहीबार अदालतमा भएको थुनछेक बहसबाट मृतकका श्रीमान् पवन भट्ट पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र बहादुरले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा मृतकका ससुरा हरिदत्त भट्ट र दिदी पूजा भट्टलाई धरौटीमा छाड्ने आदेश भएको छ भने सासू किरण भट्टलाई साधारण तारेखमा छोड्ने आदेश भएको बताए ।
उहाँका अनुसार, बिहीबार न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासले ससुरा हरि र दिदी पूजाबाट जनही एक÷एक लाख धरौटी लिन आदेश भएको छ । सो आदेश अनुरूप तीन जना रिहा भएका हुन भने मृतकका श्रीमान् पुर्पक्षका लागि कारागार चलान गरिएका छन् । गत साउन १८ गते बिहान सम्झना घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
