धनगढी, ६ भदौ । विद्यालय शिक्षा विधेयक–२०८० को प्रावधानले निजी विद्यालयको अस्तित्व नै सङ्कटमा पार्ने भन्दै प्याब्सनले आज धनगढीमा भव्य विरोध र्यालीको तयारी गरेको छ। कार्यक्रम प्याब्सन, नेशनल प्याब्सन तथा हिसानको संयुक्त आव्हानमा बिहान ११ बजे क्याम्पस चोकबाट सुरु हुने भएको छ।
अहिले बिहान ९ बजेदेखि नै विभिन्न विद्यालयका बसहरू झन्डा, ब्यानर र साउण्ड सिस्टमसहित तयारी अवस्थामा रहेका छन्। आयोजकहरूले सम्पूर्ण सदस्य विद्यालयका बसहरूलाई आज क्याम्पस चोकमा भेला भई नगर परिक्रमा गर्न आह्वान गरेका छन्। बसहरूको छतमा राखिएका साउण्ड सिस्टममार्फत प्याब्सनको गीत बजाइने र सहभागीहरूले नारा लगाउने तयारी छ।
प्याब्सनले शिक्षा विधेयकविरुद्ध उठाएका मागहरू आजको र्यालीमा प्रत्यक्ष रुपमा गुञ्जिनेछन्। सहभागीहरूले “गुणस्तरीय शिक्षा — निजी विद्यालयको प्रतिवद्धता”, “पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मार्न पाइँदैन”, “श्रम, लगानी र योगदान — निजी विद्यालयको सम्मान”, “शिक्षा नीति सुधार गर — निजी विद्यालयको सम्मान गर” जस्ता नारा घन्काउने तयारी गरिएको छ।
र्यालीको तयारीमा व्यस्त सिटी स्कूलका संस्थापक प्रिन्सिपल गोविन्द सेढाईंले भने “यो आन्दोलन हाम्रो अस्तित्व र पहिचानको लागि हो। राज्यले हाम्रो योगदानलाई बेवास्ता गर्दै शिक्षा विधेयक ल्याएको छ। हामी गुणस्तरीय शिक्षा दिन कटिबद्ध छौँ, त्यसैले निजी विद्यालयको सम्मान गर्नुपर्ने हाम्रो माग जायज छ।”
यसै गरी अभिभावक रामचन्द्र ओझाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमै पढाइरहेको बताए । उनले भने “ यिनै विद्यालयहरूले राम्रो पढाइ दिएका कारण विद्यार्थी सक्षम भएका छन्। सरकारको नीतिले यी विद्यालयलाई कमजोर पार्छ भने यसको असर हामी अभिभावक र बालबालिकामा पर्छ।” प्याब्सन धनगढीका अध्यक्ष ध्रुव बहादुर सिंह भने “हामी पूर्ण छात्रवृत्ति लाद्ने नीतिविरुद्ध छौँ। यो सम्भव छैन, यसले निजी विद्यालय मार्छ। सरकारले गुणस्तरीय शिक्षाको वातावरण बनाउनुपर्छ।”
निजी विद्यालयलमा अध्ययनरत एक विद्यार्थीले भने, “हामी निजी विद्यालयमा अध्ययन गरेरै प्रतिस्पर्धी हुन पाएका छौँ। सरकारले हाम्रो विद्यालयलाई नै धरापमा पार्ने विधेयक ल्याउन खोजेको देख्दा दुख लाग्छ।”
विद्यालय शिक्षा विधेयक–२०८० संसदमा अन्तिम छलफलमा पुगेपछि निजी विद्यालय सञ्चालक संगठन प्याब्सनले देशभर आन्दोलन चर्काइरहेको छ। यसअघि काठमाडौंसहित विभिन्न शहरमा धर्ना, जुलुस र विरोध प्रदर्शन भएका छन्। प्याब्सनले विधेयक खारेज गरी निजी विद्यालयको योगदानलाई स्वीकार गर्ने खालको नयाँ नीति ल्याउन माग गर्दै आएको छ।
प्याब्सन धनगढीका कोषाध्यक्ष योगेन्द्र सिंह भने “आजको हाम्रो विरोध कार्यक्रमले धनगढीमा मात्रै नभई देशभर सन्देश दिनेछ। निजी विद्यालयविना देश र बालबालिकाको भविष्य सुरक्षित हुँदैन। हामीलाई पूर्ण छात्रवृत्ति वा गैरनाफामूलकको नाममा कमजोर बनाउन खोजिएको छ। तर यो आन्दोलनले निजी विद्यालय राष्ट्र निर्माणको आधार हो भन्ने देखाउनेछ ।”