धनगढी, २५ साउन/डोटीको जोरायल ५ गडसेरामा गाँउमा ईन्टरनेट समस्या हुदा खोलामा भत्ता कार्ड नविकरण गरिरहेका छन् । वडा नम्बर ५मा नेपाल टेलिकमको ईन्टरनेट नहुदा कार्यालयको काम गर्न समस्या आएको हो ।
गाउँमै नेटवर्क हुने तर त्यसमा ईन्टरनेट नचल्दा कार्यालयको काम सम्पादन गर्न समस्या हुने गरेको वडा ५ नम्बर वडा सचिव बिनोद रजवारले बताएका छन् । सामाजिक भत्ता नविकरण गर्न बायोमेट्रिक प्रणालीमार्फत विवरण अध्याबधिक गर्न आवश्यक इन्टरनेट सुविधा नहुँदा वृद्धवृद्धा आमाबुबाहरू नेटवर्क आउने स्थान खोज्दै खोलाकिनार र टाकुरासम्म पुग्न बाध्य भएका छन् । गाउँमै नेटवर्क नहुँदा बायोमेट्रिक प्रक्रिया पूरा गर्न सेवाग्राहीलाई असहज परिस्थितिमा खोलाकिनार वा उचाइ भएका स्थानमा लैजानुपर्ने बाध्यता रहेको छ ।
सो क्षेत्रमा ईन्टरनेटको समस्या मात्रै होईन फोन नलाग्ने समस्या पनि उस्तै रहेको छ । घाम लागेका बेला मात्रै केही समय नेटवर्क चल्छ, तर बादल लागे वा मौसम बिग्रिएमा फोनसमेत सम्पर्क विहीन हुने गरेको वडा अध्यक्ष ध्वजबहादुर देउवाले बताएका छन् । डोटीको जोरायल गाउँपालिका–५ र ६ नम्बर वडामा नेपाल टेलिकमको नेटवर्क अभावका कारण सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य कठिन बनेको छ ।
वडा कार्यालयले अहिले सबै सेवाग्राहीलाई वडा कार्यालयसम्म बोलाउन समस्या हुने भएकाले टोली गाउँमै गएर नवीकरण सेवा दिइरहेका छन् । नेटवर्क समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि कतैबाट सुनुवाई नभएको स्थानीयको गुनासो छ ।