धनगढी २४ साउन/चाडपर्व नजिकिँदै गरेका बेला यस क्षेत्रका सरोकारवालाहरूले नेपाली मौलिक कला सँस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् ।नजिकिदै गरेको हिन्दू महिलाहरूको महान चाँड हरितालिका तीजको अवसर धनगढी उपमहानगरपालिका(३ स्थित शुभकामना टोल विकास समिति ले स धनगढी प्रज्ञा सदनको प्राङ्गणमा भएको तीज मिलन कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीले हाम्रो नेपाली मौलिक कला सँस्कृति संरक्षणका लागि सबैले लाग्नुपर्ने बताए । समय क्रमसँगै सँस्कृतिमा विकृति पनि फैलिइरहेकाले त्यसलाई रोक्नुपर्ने धारणा राखे । उनले तीज पर्वलगायतका नाममा आउने उच्छृङ्खल गीतहरूलाई पनि बहिस्कार गर्नेपर्ने बताए । यहाँको कला सँस्कृति जगेर्नाका लागि प्रज्ञा प्रतिष्ठानले पनि काम गरिरहेको उनले प्रष्ट्याए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी वडा नम्बर ३ का वडाध्य राजबहादुर ऐरले सँस्कृति जगेर्नाका टोल विकास समितिले गरेको यो पहिलो र उत्कृष्ट कार्यक्रम भएको बताए ।उनले कला संस्कृतिलाई जगेर्ना गर्नका लागि हुने कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । यश कार्यमा टोल विकास समिति पनि एकदम क्रियाशील रहेको भन्दै धन्यवाद व्यक्त गरे ।
टोल विकास समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति दिर्घराज ओझाले विभिन्न टोलमा छरिएर रहेका महिलाहरूलाई सामूहिक रूपमा भेटघाट र तीजको महत्वबारे उजागर गर्न तीज मिलन कार्यक्रम गरिएको बताए ।तीज पर्वको एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै पर्वलाई मर्यादित र सभ्य तरिकाले बनाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए । पछिल्लो समय तीज पर्वका नाममा फैलिएको विकृतिलाई हटाउनुपर्ने उनले बताए ।
टोलबासी महिला पुरुषहरू एकीकृत गरी नमुना टोल बनाउने उद्देश्य रहेको समेत उनले बताए । विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा यस्ता खाले कार्यक्रम पुनस् पनि गर्नेछौुं उनले भने, यस्ता अभियानमा सबैको सहकार्य पनि हुन जरुरी छ । कार्यक्रमका अन्य वक्ताहरूले पनि पछिल्लो समयमा देखिएको विकृतिलाई हटाउँदै मौलिक कला सँस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अवसरमा टोलका ८० वर्ष माथिका ११ जना वयोवृद्धलाई सम्मान गरिनुका साथै कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग गर्ने ६ जना दातालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।यस्तै कार्यक्रममा धनगढी प्रज्ञा सदनका विद्यार्थीहरूको तीज नृत्य, टोलबासी महिलाहरूको नृत्यलगायत प्रस्तुति समेटिएको थियो ।कार्यक्रममा टोलबासी, वडा नम्बर ३ का विभिन्न टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । टोल विकास समिति सदस्य पद्मा मडैले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कार्यसमिति सचिव रुपराज रेग्मीले गरेका थिए ।
