धनगढी, २१ साउन / कैलाली जिल्लाका ग्रामीण भेगमा रहेका सामुदायिक वनहरूमा निरीक्षणको लागि जाने कर्मचारीहरुले मनलागी भत्ता माग्ने गरेको पाइएको छ। विशेषगरी कैलाली जिल्लाको भजनी र पचमोरिया सब डिभिजनबाट खटिने कर्मचारीहरूले एक घण्टा निरीक्षणमा आउने र मनलागी भत्ता माग्ने त्यहाँ स्थित सामुदायिक वनहरूका अध्यक्षहरूले आरोप लगाएका छन्।
कर्मचारीहरूले आफ्नो तलब भत्ता खाएर काम गर्छन् र त्यसमा पनि हामीहरूले मेहनत अनुसारको पारिश्रमिक दिँदा पनि थोरै समयको पनि अधिक पारिश्रमिक लिने गरेको सामुदायिक वनका पदाधिकारीहरूले गुनासो गरेका छन्। कुनै नीति नियम पनि नभएको र आफूहरूले कुनबेला भत्ता दिने नदिने वा कति दिने भनेर कहीँ कतै पनि उल्लेख नभएको हुँदा आफूहरूलाई समस्या हुने गरेको प्रगतिशील सामुदायिक वनका अध्यक्ष दीपक चौधरीले जानकारी दिए।
यसको लागि पनि कुनै निश्चित मापदण्ड बनाउनुपर्ने सामुदायिक वनका अध्यक्षहरूको माग रहेको छ । मङ्गलबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय धनगढीमा ज्ञापनपत्र बुझाउन आएका वनका अधिकांश प्रतिनिधिहरूले वनका कर्मचारी प्रतिको गुनासो व्यक्त गरेका थिए।