धनगढी, १८ साउन / नेपालमा किशोरी उमेर समूह (१५–१९) मा प्रजनन दर सन् २००१ मा प्रति १००० मा २१ जन्मदरबाट सन् २०२२ मा घटेर १३.१ मा सीमित भएको छ। यसले नेपाललाई कम आय भएका मुलुकहरूमध्ये उदाहरणीय स्थानमा उभ्याएको छ। तर पनि सुदूरपश्चिम प्रदेशमा किशोर–किशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा पहुँचमा अपेक्षित सुधार पाउन सकेका छैनन्।
तथ्यांक अनुसार सुदूरपश्चिमका किशोरहरूले परिवार नियोजन, सुरक्षित गर्भपतन र यौन शिक्षाका सेवा उपयोगमा देशभरकै सबैभन्दा कम पहुँच राख्छन्। संविधान, यौन तथा प्रजनन स्वास्थ्य नीति, राष्ट्रिय परिवार नियोजन नीति र प्रजनन स्वास्थ्य अधिकार ऐनजस्ता कानुनी संरचनाले किशोर स्वास्थ्य अधिकारको रक्षा गर्ने प्रयास गरे तापनि नीतिको कार्यान्वयन पक्ष सुदूरपश्चिममा कमजोर छ।
विद्यालयदेखि स्वास्थ्य क्लिनिकसम्म सुधारको प्रयास
“साथीसँग मनका कुरा”, दिदीदाई कार्यक्रम र याड नेपालजस्ता संस्थाका पहलहरूले किशोरमा यौन शिक्षा र जीवन सीप सिकाइमा उल्लेखनीय योगदान पुर्याएका छन्। विद्यालयमै किशोर–मैत्री कक्ष सञ्चालन, स्वास्थ्यकर्मीको प्रत्यक्ष शिक्षणजस्ता उपायले किशोरहरूमा अब खुल्ला रुपमा छलफल गर्ने वातावरण बनाएको छ।
तर, दुर्गम भौगोलिक अवस्थाका कारण कतिपय किशोर–किशोरी अझै पनि सेवा केन्द्रमा पुग्न सकिरहेका छैनन्। यसको प्रत्यक्ष असर सुरक्षित गर्भपतन सेवाको पहुँचमा देखिएको छ।
बजेट नहुँदा नीति भत्ताभत्ता
पूर्व प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार संघीय सरकारले नीति बनाए पनि प्रदेश सरकारले यसलाई कार्यान्वयनमा ल्याउने चासो नदेखाउँदा समस्या थपिएको हो। “प्रदेश सरकारले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखे बजेट बढ्थ्यो, सेवा विस्तार हुन्थ्यो,” उनले बताए।
स्थानिय संलग्नताले ल्याएको प्रभाव
कैलालीमा सामुदायिक स्वास्थ्य क्लिनिक र स्थानीय युवा सूचना केन्द्रको सहकार्यमा किशोर स्वयंसेवक परिचालन गरी यौन तथा प्रजनन स्वास्थ्यको जानकारी प्रवाह भइरहेको छ। संरचना निर्माण, तालिम र अभिमुखिकरण कार्यक्रममार्फत विद्यालय तथा समुदायमा उल्लेखनीय सुधार आएको देखिन्छ।
बालविवाह र किशोर गर्भवतीको चुनौती
हालसम्म पनि सुदूरपश्चिममा १५–१९ वर्षका २७% किशोरीले विवाह गर्ने गरेका छन् भने १४% गर्भवती हुने गरेका छन्। यद्यपि बालविवाहमा केही कमी आएको तथ्यांकले देखाएको छ—२००६ मा ७८% बाट घटेर २०२२ मा ६४% मा झरेको छ। तर, कानुन कार्यान्वयन नहँुदा बालविवाहको जरो उखेलिन बाँकी नै छ।
धनगढीकी किशोरी सशक्तीकरणमा सक्रिय कुसुम बि.सी भन्छिन्, “कानुनी जानकारी हुँदाहुँदै पनि अभिभावकहरूले छोराछोरीको बाल्यकालमै विवाह गराइरहेका छन्, र अब त किशोर–किशोरीले आफैं पनि विवाह गर्ने चलन बढ्दै गएको छ।”
प्रभाव
सुदूरपश्चिमका किशोर–किशोरीहरू अझै पनि यौन स्वास्थ्यको विषयलाई लाज, डर र सामाजिक वर्जनाको नजरले हेर्ने प्रवृत्तिमा छन्। विद्यालयमा यौन शिक्षालाई उपेक्षा गरिनु, अभिभावक र समाजले यसबारे खुलेर कुरा नगर्नु, र सञ्चार माध्यममा सही जानकारीको अभावले गर्दा उनीहरू धेरै भ्रममा पर्छन्।
यसकै कारणले उमेर नपुग्दै विवाह, किशोर गर्भावस्था, यौनरोग, मानसिक तनाव, र आत्मग्लानीजस्ता समस्या देखिन थालेका छन्। यौन स्वास्थ्यबारे चेतनाको कमीले उनीहरूको शिक्षा, आत्मविश्वास, र भविष्यप्रतिको दृष्टिकोणमा समेत प्रतिकूल असर पारिरहेको छ।
आवश्यकता र फाइदा
सुदूरपश्चिममा यौन स्वास्थ्यबारे स्पष्ट, तथ्यपरक र संस्कारसंग मेल खाने शिक्षाको आवश्यकता दिनदिनै बढ्दो छ। किशोर–किशोरीहरूलाई शरीरका परिवर्तन, सुरक्षित यौन व्यवहार, सहमति, लैङ्गिक हिंसा, र यौन अधिकारबारे जानकारी दिनु उनीहरूको आत्मरक्षा र आत्मविश्वास बढाउन अपरिहार्य छ। यसले नकारात्मक प्रभावहरू घटाएर भविष्यमा जिम्मेवार नागरिक बन्ने आधार तयार गर्छ।
विद्यालय, अभिभावक, सञ्चारकर्मी र नीति निर्माताबीच समन्वय भएर सुदूरपश्चिमका किशोर–किशोरीलाई व्यवहारिक यौन स्वास्थ्य शिक्षा दिन सकियो भने उनीहरूले आत्मनिर्भर जीवन र सुरक्षित भविष्यको बाटो समात्न सक्नेछन् ।
संघीय नीति, प्रदेशको प्राथमिकता र स्थानीय सक्रियताबीचको समन्वय नहुञ्जेल, सुदूरपश्चिमका किशोर–किशोरी अझै पनि यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा अधुरै रहने देखिन्छन।