धनगढी, १३ साउन / नेपाली शिक्षाक्षेत्रमा तीन दशकभन्दा बढी समय समर्पण गरेका कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. तोयराज भट्टको सेवा निवृत्तिसँगै मंगलबार क्याम्पसमा एक भावनात्मक र सम्मानपूर्ण बिदाई कार्यक्रम सम्पन्न भएको छ।
वि.सं. २०४९ सालमा प्राध्यापन सेवा प्रारम्भ गर्नु भएका भट्टले आफ्नो शैक्षिक जीवनलाई अध्यापन, प्रशासनिक जिम्मेवारी तथा नेतृत्वमार्फत समाज रूपान्तरणको अभियानमा जोडिरहनुभएको थियो। उहाँले वि.सं. २०७९ सालदेखि २०८२ हाल सम्म क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गर्दै क्याम्पसको गुणस्तरीय शिक्षादेखि भौतिक विकासमा समेत उल्लेखनीय योगदान पुर्याउनुभयो।
क्याम्पस कर्मचारी संघको आयोजनामा सम्पन्न सो बिदाई कार्यक्रममा प्राध्यापक, कर्मचारी, विद्यार्थी, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरुको उपस्थिति थियो।
कार्यक्रममा क्याम्पस परिवारका तर्फबाट उहाँको समर्पण, इमानदारी, दूरदृष्टि र नेतृत्व क्षमताको उच्च कदर सहित विदाई गरिएको क्याम्पसका प्रशासन प्रमुख दिल बहादुर धामीले जानकारी दिनुभयो ।